`

सनातन धर्मको पक्षधरतादेखि संविधान संशोधनसम्म, कांग्रेस राष्ट्रिय भेलाले के के गर्यो निर्णय?

रामचन्द्र जोशी ३१ साउन २०८३ १४:५६
नेपाली कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसको संस्थापनइतर पक्षको राष्ट्रिय भेला तथा सम्मेलन विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। साउन २९ गतेदेखि सुरु भएको सम्मेलनले पार्टीको आगामी महाधिवेशन, राष्ट्रिय एकता, सनातन धर्म-संस्कृति, संविधान संशोधन तथा सम्मेलनबाट पारित प्रस्तावलाई लिखित रूप दिने विषयमा महत्वपूर्ण निर्णय गरेको छ।

राष्ट्रिय भेलाको उद्घाटन र समापन दुवै सत्रमा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा सहभागी भएका थिए। साढे पाँच महिनापछि उपचार गरेर स्वदेश फर्केका उनले भेलामा राजसंस्था र हिन्दूत्वको मुद्दा जोडतोडका साथ उठाएका छन्।  यसले हिन्दूराष्ट्र नेपाल र राजसंस्थाका विषयमा विगत लामो समयदेखि भइरहेका चर्चा- उठ्ने गरेका प्रश्नहरुलाई थप चर्काएको देखिन्छ। 

भेलामा पार्टीको वर्तमान अवस्था, नेतृत्व विवाद, आगामी महाधिवेशनको तयारी तथा कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा विस्तृत छलफल भएको थियो। विभिन्न जिल्ला र प्रदेशबाट आएका प्रतिनिधिहरुले विभिन्न समुह बनाएर कांग्रेस नेताहरु एनपी साउद, उमाकान्त चौधरी, रमेश लेखक, प्रकाशशरण महत लगायतले भेलामा प्रस्तुत गरेका राजनीतिक, आर्थिक, सांगठनिक प्रतिवेदनमाथि छलफल गरेका थिए। 

भेलाले छ वटा मुख्य निर्णय गरेका छ। नेता प्रकाशशरण महतले भेलाले पाँचवटा निर्णय गरेको जानकारी दिए। उनका अनुसार अब संस्थापनइतर पक्षका तर्फबाट हुने आगामी कार्यक्रम तथा गतिविधि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा सञ्चालन गर्ने निर्णयसमेत गरिएको छ। यससँगै कोइराला औपचारिक रूपमा संस्थापनइतर पक्षका गतिविधिको नेतृत्वदायी भूमिकामा रहने भएका छन्।

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने निर्णय

भेलाको सबैभन्दा महत्वपूर्ण निर्णयका रूपमा १५औँ महाधिवेशन नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा सम्पन्न गर्ने उल्लेख गरिएको छ। उक्त महाधिवेशन पार्टी सभापति शेरबहादुर देउवाकै सभापतित्वमा सम्पन्न हुने निर्णय भेलाले गरेको छ।

भेलाले देउवाकै नेतृत्वमा पार्टीलाई एकताबद्ध गर्दै १५औँ महाधिवेशन सम्पन्न गर्न सकिने विश्वाससमेत व्यक्त गरेको छ। पार्टीभित्र नेतृत्वलाई लिएर देखिएको विवाद र फरक–फरक धारबीचको दूरीलाई अन्त्य गर्दै महाधिवेशनसम्म पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा भेलाले जोड दिएको छ।

निर्णयमा १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीका आवश्यक नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले संयोजन गर्दै जाने उल्लेख गरिएको छ। यसले संस्थापनइतर पक्षले अबका गतिविधि शशांक कोइरालाको संयोजकत्वमा अघि बढाउने स्पष्ट संकेत गरेको छ।

राष्ट्रिय एकता र लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने

भेलाले देशको वर्तमान राजनीतिक अवस्थालाई समेत ध्यानमा राख्दै राष्ट्रिय एकता र लोकतान्त्रिक शक्तिहरूबीच संवाद तथा सहकार्यलाई प्राथमिकता दिने निर्णय गरेको छ।

निर्णयमा २०३३ सालमा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राख्दै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसंग उल्लेख गरिएको छ।

आज पनि देश अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको निष्कर्ष निकाल्दै भेलाले राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिहरूसँग संवादलाई निरन्तरता दिने निर्णय गरेको हो। राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेस सक्रिय रूपमा अघि बढ्नुपर्ने भेलाको निष्कर्ष छ।

कांग्रेसले मुलुकमा देखिएका राजनीतिक तथा सामाजिक चुनौतीको समाधान संवाद र सहमतिबाट खोज्नुपर्नेमा जोड दिएको छ। लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य र राष्ट्रिय मुद्दामा साझा धारणा निर्माण गर्न कांग्रेसले भूमिका खेल्नुपर्ने निर्णयमा उल्लेख गरिएको छ।

सनातन धर्म र धार्मिक स्वतन्त्रताको पक्षमा प्रतिबद्धता

राष्ट्रिय भेलाले नेपालको सनातनदेखि चलिआएको धर्म तथा संस्कृतिलाई राष्ट्रिय पहिचानसँग जोडेर हेर्ने निर्णयसमेत गरेको छ। नेपालमा लामो समयदेखि कायम रहँदै आएको धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई कायम राख्दै प्रत्येक व्यक्ति तथा धार्मिक समुदायलाई आफ्नो धर्म मान्ने स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने भेलाको धारणा छ।

निर्णयमा नेपालमा परम्परादेखि चलिआएका हिन्दू, बौद्ध, किराँत तथा प्रकृतिपूजक धर्म-संस्कृतिको संरक्षण गर्ने दायित्वलाई ध्यानमा राख्दै सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

भेलाले धार्मिक आस्था र स्वतन्त्रताको सम्मान गर्दै नेपालको मौलिक धार्मिक तथा सांस्कृतिक पहिचानको संरक्षण आवश्यक रहेको निष्कर्ष निकालेको छ। धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपालको विशेषता भएकाले त्यसलाई थप मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा भेलाले जोड दिएको छ।

यसअघि पनि कांग्रेसभित्र धर्म, संस्कृति र नेपालको मौलिक पहिचानका विषयमा फरक-फरक धारणा सार्वजनिक हुँदै आएका थिए। पछिल्लो समय हिन्दू धर्म र सनातन संस्कृतिको विषय राजनीतिक बहसमा समेत प्रवेश गरिरहेका बेला संस्थापनइतर पक्षको राष्ट्रिय भेलाले यसलाई आफ्नो निर्णयमा समेटेको हो।

संविधान संशोधनका लागि संवाद गर्ने

भेलाले वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्नुपर्ने विषयमा पनि निर्णय गरेको छ। संविधानले व्यवस्था गरेको प्रक्रियाअनुसार सम्बन्धित सबै पक्षसँग संवाद गरी आवश्यक संशोधन तथा निकास खोज्ने निर्णय भेलाले गरेको हो।

संविधान कार्यान्वयनका क्रममा देखिएका समस्या तथा जनअपेक्षाअनुसार आवश्यक सुधारका विषयमा राजनीतिक दल, नागरिक समाज र सम्बन्धित सरोकारवालासँग संवाद गर्नुपर्ने भेलाको निष्कर्ष छ। संविधान संशोधन गर्दा संवैधानिक व्यवस्थालाई आधार बनाएर सहमतिको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिइएको छ।

पारित प्रस्तावलाई लिखित रूप दिने जिम्मेवारी साउदलाई

भेलामा प्रस्तुत विभिन्न प्रस्ताव तथा सुझावलाई समेटेर अन्तिम रूपमा लिखित दस्तावेज तयार गर्ने जिम्मेवारी पनि तोकिएको छ।

भेलाले प्रस्तुत प्रस्ताव तथा सुझावलाई समेटेर परिमार्जनसहित पारित प्रस्तावलाई व्यवस्थित रूपमा लिखित रूप दिने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठन गरिएको समितिलाई दिएको छ।

समितिमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सीता राना सदस्यका रूपमा रहनेछन् भने सहयोगीका रूपमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल रहने निर्णय गरिएको छ।

यस समितिले राष्ट्रिय भेलामा उठेका विषय, प्रस्तुत प्रस्ताव तथा सहभागीहरूबाट आएका सुझावलाई समेटेर अन्तिम दस्तावेज तयार गर्नेछ। त्यसलाई पार्टीको आगामी राजनीतिक गतिविधि तथा संगठनात्मक दिशासँग जोडेर अघि बढाउने तयारी संस्थापनइतर पक्षको छ।

शशांकको संयोजकत्वमा अबका गतिविधि

राष्ट्रिय भेलाले अबका कार्यक्रम तथा गतिविधि पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा अघि बढाउने निर्णय गरेपछि कांग्रेसभित्र उनको भूमिकासमेत महत्वपूर्ण बनेको छ।

विशेष महाधिवेशनमा सहभागी नभएको संस्थापनइतर पक्षले छुट्टै राष्ट्रिय भेला आयोजना गरेर पार्टीको भावी दिशा, नेतृत्व र संगठनात्मक गतिविधिबारे आफ्नो धारणा स्पष्ट गरेको हो। भेलाबाट देउवालाई नै पार्टी सभापतिको हैसियतमा स्वीकार गर्दै १५औँ महाधिवेशन उनकै सभापतित्वमा गर्ने निर्णय गरिएपछि कांग्रेसभित्र जारी नेतृत्वसम्बन्धी विवादमा यो निर्णयलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

समापन कार्यक्रममा निवर्तमान सभापति देउवाको उपस्थितिले पनि भेलालाई थप राजनीतिक महत्व दिएको थियो। भेलाले देउवाको नेतृत्वमा पार्टीलाई एकताबद्ध बनाएर आगामी महाधिवेशनसम्म लैजाने सन्देश दिएको छ।

कांग्रेसभित्र विभिन्न समूहबीच देखिएको मतभेद र नेतृत्वसम्बन्धी विवादका बीच संस्थापनइतर पक्षले राष्ट्रिय भेलामार्फत आफ्नो राजनीतिक धारणा सार्वजनिक गरेको हो। अब शशांक कोइरालाको संयोजकत्वमा हुने गतिविधिले संस्थापनइतर पक्षको आगामी रणनीति र कांग्रेसभित्रको शक्ति समीकरणमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

राष्ट्रिय भेलाले देउवाकै नेतृत्वमा १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ भने अर्कोतर्फ राष्ट्रिय एकता, लोकतन्त्रको सुदृढीकरण, सनातन धर्म-संस्कृतिको संरक्षण, संविधान संशोधन र पार्टीभित्रको एकतालाई प्राथमिकतामा राखेको छ। अब पारित निर्णयलाई कार्यान्वयनमा लैजाँदै संस्थापनइतर पक्षले आगामी दिनमा पार्टीभित्र आफ्नो गतिविधि कसरी अघि बढाउँछ भन्ने विषय कांग्रेसको आन्तरिक राजनीतिका लागि महत्वपूर्ण हुने देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *