२९ वर्षपछि पनि गुञ्जिँदैछन्, ‘शाहंशाह-ए-क़व्वाली’
आज १६ अगस्ट।
संगीतप्रेमीका लागि यो दिन निकै विशेष छ।
आजकै दिन सन् १९९७ मा ४८ वर्षको उमेरमा त्यो अद्भुत आवाजको भौतिक उपस्थिति यो संसारबाट बिदा भएको थियो। एक सांगीतिक यात्रा रोकिएको २९ वर्ष बितिसकेको छ।
दक्षिण एसियाली संगीतमा केही नाम यस्ता छन्, जसलाई गायक भनेर चिनाउनु उनीहरूको योगदानलाई सानो बनाउनुजस्तै हुन्छ। यस्तो लाग्छ, उनीहरू गाउनकै लागि जन्मिएका हुन्।
त्यस्तै महान व्यक्तित्व मध्येका एक थिए ‘नुसरत फतेह अली खान’।
पाकिस्तानी क़व्वाली गायक खान, संगीतकार तथा विश्वसंगीतका प्रभावशाली कलाकार थिए। उनलाई प्रायः ‘शाहंशाह-ए-क़व्वाली’ अर्थात् क़व्वालीका सम्राट भनेर चिनिन्छ।
‘सूफी संगीतको भाव, आध्यात्मिकता र प्रेमलाई आफ्नो असाधारण स्वरमार्फत संसारभर पुर्याउने कलाकार थिए।’ उनलाई यसरी पनि सम्बोधन गर्न सकिन्छ।
उनलाई ‘मास्टर अफ क़व्वाली’, ‘लेजेन्ड अफ सूफी म्युजिक’ तथा ‘आवाजका जादुगर’ जस्ता उपाधिले समेत सम्बोधन गरिन्छ।
दक्षिण एसियामा उनी विशेषगरी क़व्वालीलाई नयाँ उचाइमा पुर्याउने महान् साधकका रूपमा सम्मानित छन् भने पश्चिमी संगीत संसारमा उनलाई विश्व संगीतका सबैभन्दा प्रभावशाली आवाजमध्ये एक मानिन्छ।
उनको स्वरमा एउटा यस्तो शक्ति थियो, जसले सुन्नेलाई केवल गीत सुनाउँदैनथ्यो, भावनाभित्रै पुर्याउँथ्यो। उनी कहिले प्रेमीको विरह बनेर गाउँथे, कहिले ईश्वरको खोजमा निस्किएको भक्त बनेर, कहिले प्रेममा डुबेको मानिसको बेचैनी बनेर। हार्मोनियम, तबला र तालीसँगै जब उनको स्वर उठ्थ्यो, कव्वाली एउटा गीतबाट विस्तारै सामूहिक आध्यात्मिक अनुभूतिमा बदलिन्थ्यो।
आज उनको निधन भएको २९ वर्ष पूरा भएको छ। सन् १९९७ अगस्ट १६ मा ४८ वर्षको उमेरमा नुसरत फतेह अली खानले संसार छाडे। जीवन छोटो रह्यो, तर उनले छाडेको सांगीतिक प्रभाव असाधारण रूपमा लामो रह्यो। उनको मृत्युको २९ वर्षपछि पनि उनका गीतहरू नयाँ पुस्ताले सुनिरहेको छ, उनका कव्वाली नयाँ कलाकारले गाइरहेका छन् र उनको स्वरले अझै पनि लाखौँ श्रोताको मन छोइरहेको छ।
नुसरत फतेह अली खान पाकिस्तानको फैसलाबादमा जन्मिएका थिए। उनी कव्वालीको लामो र समृद्ध पारिवारिक परम्पराबाट आएका थिए। उनका पुर्खाहरूले पुस्तौँदेखि कव्वाली र शास्त्रीय संगीतको साधना गर्दै आएका थिए।
तर नुसरत केवल परम्पराका उत्तराधिकारी भएर बसेनन्। उनले त्यो परम्परालाई आफ्नै शैली, असाधारण स्वर क्षमता र प्रयोगशीलताबाट नयाँ उचाइ दिए।
उनको गायनमा परम्परागत कव्वालीका सबै आधार थिए – हार्मोनियम, तबला, ढोलक, सामूहिक ताली र दोहोरिने पंक्ति। तर त्यसमा उनले लामो आलाप, तीव्र तान, स्वरको आरोह-अवरोह र भावनात्मक उतारचढाव थपे।
त्यसैले उनको कव्वाली सुन्दा सुरु भएको केही क्षणमै श्रोता अर्को संसारमा पुगेजस्तो अनुभव गर्थे।
नुसरतको गायनमा ईश्वरप्रतिको समर्पण निकै गहिरो थियो। उनको चर्चित कव्वाली ‘अल्लाहु’ यसको राम्रो उदाहरण हो। जब गुञ्जिन्थ्यो-
‘अल्लाहु अल्लाहु, अल्लाहु अल्लाहु,
अल्लाहु अल्लाहु, अल्लाहु अल्लाहु…
शब्द थोरै छन्, तर नुसरतको प्रस्तुतिमा यसको प्रभाव असाधारण हुन्छ। एउटै शब्दलाई स्वरको आरोह-अवरोहसँग पटकपटक दोहोर्याउँदै उनी गीतलाई एउटा आध्यात्मिक यात्रामा बदलिदिन्छन्।
उनको आवाज बिस्तारै माथि चढ्दै जाँदा श्रोतालाई लाग्छ, कव्वाली नभई कुनै प्रार्थना चलिरहेको छ।
नुसरत साहबको संगीतमा अध्यात्म मात्र थिएन। प्रेम, आकर्षण र विरह पनि त्यत्तिकै गहिरो रुपमा प्रस्तुत हुन्थ्यो । जस्तै-
‘मेरे रश्क-ए-कमर, तूने पहली नज़र,
जब नज़र से मिलाई मज़ा आ गया।
बरक़ सी गिर गई, काम ही कर गई,
आग ऐसी लगाई मज़ा आ गया।’
यी पंक्तिमा पहिलो नजरको प्रेमले ल्याउने मोह र उत्साह छ। खान साहबले यसलाई आफ्नो स्वरमा प्रस्तुत गर्दा यी शब्दहरू प्रेमको वर्णनमा मात्र सिमित रहँदैनन्,आफैमा इश्वरीय हुन जान्छन्।
उनको गायनको यही विशेषता थियो उनी शब्दलाई महसुस गर्थे अनि महसुस गराउन सक्थे।
प्रेमको अर्को पक्ष हो – पीडा। नुसरतले प्रेमको खुसीसँगै त्यसको चोट पनि उत्तिकै गहिरो स्वरमा गाए।
‘तुम्हें दिल्लगी भूल जानी पड़ेगी’ आज पनि उनका सबैभन्दा चर्चित रचनामध्ये एक हो।
‘तुम्हें दिल्लगी भूल जानी पड़ेगी,
मोहब्बत की राहों में आकर तो देखो।
बदलने पे मजबूर हो जाओगे तुम,
मोहब्बत की राहों में आकर तो देखो।’
प्रेमलाई बाहिरबाट हेर्ने मानिसलाई प्रेमको वास्तविक संसारमा प्रवेश गर्न दिइएको निम्तो पनि छ, चेतावनी पनि छ। यो दुवैको समिश्रण उनको आवाज र अन्दाजमा सजिँदा झन् बेमिसाल बन्थ्यो।
खान साहबको स्वरमा यो गीत सुन्दा प्रेम रोमान्स मात्र नभई, मानिसलाई बदलिदिने अनुभव हो भन्ने अनुभूति हुन्छ।
पञ्जाबी भाषामा गाइएका नुसरतका गीतहरू पनि उत्तिकै लोकप्रिय छन्। ‘सानु एक पल चैन न आवे’ विरह र बेचैनीको शक्तिशाली अभिव्यक्ति हो।
‘सानु एक पल चैन न आवे,
सजना तेरे बिना।
दिल मेरा घबरावे,
सजना तेरे बिना।’
प्रिय मानिसको अनुपस्थितिमा एक पल पनि चैन नपाउने मनको अवस्था यसमा छ। नुसरतले यसलाई यति मार्मिक ढंगले प्रस्तुत गरेका छन् कि भाषा नबुझ्ने श्रोताले पनि गीतको पीडा महसुस गर्न सक्छ।
यही उनको महानता थियो उनको स्वरले भाषाको सीमा पार गर्थ्यो। र त्यो अनुभव गराउँथ्यो जुन इश्वरीय हुन्थ्यो।
सूफी संगीतको सबैभन्दा लोकप्रिय रचनामध्ये एक हो ‘दमादम मस्त कलन्दर’।
‘दमादम मस्त कलन्दर’ नुसरतको प्रस्तुतिमा झन् –
दमादम मस्त कलन्दर,
अली दा पहला नम्बर।
झूलेलाल कलन्दर,
दमा दम दे अंदर।’
तालीको गति बढ्दै जान्छ, सामूहिक स्वर जोडिन्छ र नुसरतको आवाज क्रमशः उचाइतर्फ पुग्छ। त्यसपछि महफिलमा गायक र श्रोताबीचको दूरी हराउँछ।
सबैजना एउटै लयमा मिसिन्छन्। यही थियो खान साहबको कव्वालीको जादु।
उनको संगीतमा भक्ति थियो, तर प्रश्न पनि थियो। ‘तुम एक गोरख धंधा हो’ मा उनले मानिसको आध्यात्मिक अन्योल र ईश्वरलाई बुझ्न खोज्ने प्रयासलाई प्रस्तुत गरेका छन्।
‘तुम एक गोरख धंधा हो,
तुम एक गोरख धंधा हो।
समझ में नहीं आता,
तुम क्या हो, कहाँ हो।’
यसमा ईश्वरलाई बुझ्न खोजिरहेको मानिसको जिज्ञासा र असमर्थता देखिन्छ। नुसरतको आवाजमा आउँदा त्यो प्रश्न अझ गहिरो हुन्छ।
नुसरतले कव्वालीलाई आफ्नो पुर्खाको परम्पराबाट उठाएर अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याए।
पश्चिमी संगीतकारहरूसँग सहकार्य गरे, विश्व संगीतका परियोजनामा सहभागी भए र उनको आवाज दक्षिण एसियाबाहिरका श्रोतासम्म पुग्यो।
पीटर ग्याब्रियललगायत अन्तर्राष्ट्रिय कलाकारसँगको सहकार्यले उनको संगीतलाई नयाँ संसारसँग जोड्यो। तर विश्वव्यापी लोकप्रियताबीच पनि उनले आफ्नो मूल पहिचानकव्वाली र सूफी संगीतलाई कहिल्यै छाडेनन्।
सन् १९९७ अगस्ट १६ मा नुसरत फतेह अली खानको निधन भयो। उनी केवल ४८ वर्षका थिए।
उनको मृत्यु संगीतका लागि ठूलो क्षति थियो। एउटा यस्तो स्वर रोकियो, जसले हजारौँ वर्ष पुरानो सूफी परम्परालाई आधुनिक संसारका करोडौँ मानिससम्म पुर्याइरहेको थियो।
तर उनको यात्रा साँच्चिकै रोकिएन।
आज पनि कुनै-कतै एकान्त रातमा ‘तुम्हें दिल्लगी’ बज्छ। कुनै महफिलमा ‘दमादम मस्त कलन्दर’ गुञ्जिन्छ। कसैले विरहमा ‘सानु एक पल चैन न आवे’ सुन्छ। मस्जिदहरूमा अझै ‘अल्लाहु’ सुनिन्छ।
२९ वर्षपछि पनि नुसरत साहबको आवाज उस्तै सुनिन्छ-
‘अल्लाहु अल्लाहु…’
कहिले प्रार्थना बनेर,कहिले प्रेम बनेर, कहिले विरह बनेर,र कहिले आत्मालाप बनेर, नुसरत फतेह अलि खान उर्फ ‘शाहंशाह-ए-क़व्वाली’को आवाज अझै गुञ्जिरहेको छ।
