`

सत्ताभन्दा त्याग र नैतिकता ठूलो हो : गगन थापा

Nepal One HD ३१ साउन २०८३ १६:२७
राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा सफलता हासिल गरेको भन्नु पद वा सत्तामा पुग्नुसँग मात्र जोड्न नहुने बताएका छन्।

उनले राजनीतिक जीवनको वास्तविक मूल्यांकन व्यक्तिको नैतिक बल, विचार र समाज तथा राष्ट्रप्रतिको योगदानबाट हुनुपर्ने धारणा राखेका छन्।

आइतबार धर्म गौतमद्वारा लिखित ‘बीपी र विद्रोहका ती दिन’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले कांग्रेसलाई राष्ट्रिय शक्ति बनाउन पार्टीभित्र त्याग, संघर्ष र नैतिक मूल्यलाई सम्मान गर्नुपर्ने बताए।

उनका अनुसार राजनीतिमा कसले कति समय सत्ता सम्हाल्यो वा कुन पदमा पुग्यो भन्ने मात्र सफलताको आधार हुन सक्दैन।

राजनीतिक यात्रामा उच्च नैतिकता कायम राख्ने व्यक्तिको योगदान पदमा पुगेका व्यक्तिभन्दा महत्वपूर्ण हुन सक्ने उनको भनाइ थियो।

थापाले भने, ‘सफलताको मानक कसले कति सत्ता पायो भन्ने मात्र होइन। लेखक धर्म गौतमको राजनीतिक जीवन यस अर्थमा सफल छ कि उहाँसँग उच्च नैतिक बल छ, जुन पदमा बस्नेहरूसँग नहुन सक्छ।’

थापाले २०३३ सालमा बीपी कोइरालाले अघि सारेको राष्ट्रिय एकता तथा मेलमिलापको नीतिलाई तत्कालीन राजनीतिक परिस्थितिमा अपनाइएको रणनीतिका रूपमा मात्र बुझ्न नहुने बताए। उक्त नीति निश्चित मूल्य, मान्यता र राष्ट्रिय आवश्यकताबाट निर्देशित रहेको उनको भनाइ थियो।

बीपीका लागि लोकतन्त्र कुनै एउटा देश वा परिस्थितिमा मात्र लागू हुने विषय नभएको थापाले उल्लेख गरे। लोकतन्त्रलाई सार्वभौमिक मूल्यका रूपमा हेर्ने बीपीको दृष्टिकोण आज पनि उत्तिकै सान्दर्भिक रहेको उनले बताए।

भारतमा संकटकाल लागू हुँदा बीपी कोइरालाले त्यसको विरोध गरेको प्रसंग उल्लेख गर्दै थापाले लोकतान्त्रिक अधिकारप्रतिको उनको प्रतिबद्धता देशको सीमाभन्दा माथि रहेको बताए।

‘बीपीका लागि लोकतन्त्र युनिभर्सल थियो। भारतमा सङ्कटकाल लाग्दा बीपीले त्यसको विरोध गर्नुभयो किनकि उहाँका लागि लोकतन्त्र जहाँ पनि उत्तिकै महत्त्वपूर्ण थियो,’ थापाले भने।

उनले वर्तमान कांग्रेसले पनि बीपीको यही राजनीतिक दृष्टिकोणबाट प्रेरणा लिएर अघि बढ्नुपर्ने बताए। नागरिकका अधिकार, लोकतान्त्रिक मूल्य र राष्ट्रियतालाई केन्द्रमा राखेर पार्टीले आफ्नो राजनीतिक भूमिका प्रभावकारी बनाउनुपर्ने उनको धारणा थियो।

थापाले कांग्रेसलाई बलियो राष्ट्रिय शक्ति बनाउन निर्वाचनमा सफलता हासिल गर्नु पर्याप्त नहुने पनि संकेत गरे।

त्यसका लागि पार्टीभित्र विचार, नैतिकता, त्याग र लोकतान्त्रिक संस्कारलाई प्राथमिकता दिनुपर्ने उनको जोड थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *