बाढी-पहिरोमा सरकारको तयारी खोइ?
काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेणुका काउचाले देशभर भइरहेको अविरल वर्षासँगै बढेको बाढी–पहिरोको जोखिमप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएकी छन्।
सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले विपत्ति आइसकेपछि मात्र सक्रिय हुने सरकारी प्रवृत्तिको आलोचना गर्दै नागरिकको जीवन रक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरिन्।
बाढी–पहिरोका कारण बागलुङ, रोल्पा र जाजरकोटलगायत जिल्लामा नागरिकले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदना व्यक्त गरिन्।
विशेषगरी बागलुङको निसीखोला र बडिगाड गाउँपालिकामा पहिरोले पुर्याएको क्षतिबारे उनले संसद्लाई जानकारी गराइन्। उनका अनुसार निसीखोला–२ धाराटोलमा साउन २९ गते बिहान गएको पहिरोले नौ घरमा आंशिक क्षति पुर्याएको छ भने करिब ४० घर उच्च जोखिममा छन्।
पहिरोका कारण तारा घर्ती र दीपक परियारका घर बस्न नमिल्ने अवस्थामा पुगेपछि उनीहरू त्रिपालमुनि बस्न बाध्य भएको उनले बताइन्। बडिगाड–५ जोगीबगरमा पनि लोकबहादुर थापाको घरमा क्षति पुगेको उनको भनाइ छ।
सांसद काउचाले विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी कमजोर रहेको भन्दै प्रश्न उठाइन्। उनले अमेरिकी दार्शनिक राल्फ वाल्डो इमर्सनको भनाइ उद्धृत गर्दै नेपालमा हरेक वर्ष मनसुनका बेला दोहोरिने बाढी–पहिरोको समस्या समाधानका लागि विपत्तिअघि नै तयारी गर्नुपर्ने बताइन्।
‘हरेक वर्ष मनसुनमा उस्तै पीडा भोग्छौँ, तर विपत्ति आउनुअघि हामी किन सचेत बन्दैनौँ?’ उनले प्रश्न गरिन्।
वर्षौँको मेहनत र कमाइबाट निर्माण गरेका घरहरू पहिरोले चर्काउने, बगाउने वा जोखिममा पार्ने अवस्था आउँदा प्रभावित परिवारको पीडा गम्भीर हुने भन्दै उनले सरकार मूकदर्शक बन्न नहुने बताइन्।
उनले जोखिममा रहेका बस्तीको तत्काल पहिचान, सुरक्षित स्थानमा स्थानान्तरण, राहत तथा पुनःस्थापनाको व्यवस्था र विपद् आउनुअघि नै आवश्यक पूर्वतयारी गर्न सरकारसँग माग गरिन्।
