`

‘मिस मेनुका’ अब १३ भदौसम्म

Nepal One HD ७ भदौ २०८३ १६:२६
मनोरञ्जन

काठमाडौं । शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘मिस मेनुका : एक संवेदनशील यौनकर्मी’को प्रदर्शन अवधि एक साता थपिएको छ । थपिएको अवधिसँगै नाटक अब १३ भदौसम्म मञ्चन हुने भएको छ ।

फ्रान्सेली नाटक ‘ला पे… रेस्पेक्टुअज’को नेपाली रूपान्तरणका रूपमा तयार गरिएको नाटक १३ साउनदेखि नियमित मञ्चन भइरहेको छ । यसको मुख्य सर्जक झाँ पल सार्त्र हुन् । नेपाली रूपान्तरण कल्पना घिमिरे नुरिस्साँले गरेकी छन् भने निर्देशन पवित्रा खड्काले गरेकी छन् ।

नाटकको कथामा मेनुका नामकी यौनकर्मीलाई केन्द्रमा राखिएको छ । बसमा यात्रा गर्ने क्रममा उनी एउटा आपराधिक घटनाकी प्रत्यक्षदर्शी बन्छिन् । घटनाका वास्तविक दोषीलाई जोगाउन प्रभावशाली व्यक्तिहरूले भने उनलाई निर्दोष व्यक्तिमाथि बलात्कारको आरोप लगाउन दबाब दिन्छन् ।

प्रहरीसमेत प्रभावशाली व्यक्तिहरूको पक्षमा उभिएपछि मेनुकालाई झूटो बयान दिन दबाब दिइन्छ । यसैबीच आरोपित निर्दोष व्यक्ति आफ्नो ज्यान जोगाउन मेनुकाको सहयोग खोज्दै उनीसमक्ष पुग्छ । त्यसपछि विकसित हुने घटनाक्रमलाई नाटकले प्रस्तुत गरेको छ ।

नाटकमा सरिता गिरी, युवराज घिमिरे, रूपेश मण्डल, प्रभाकर देव शर्मा, धनराज सुनार र गोविन्दलगायत कलाकारले अभिनय गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *