राष्ट्रिय लोक सञ्चारकर्मी नेपालद्धारा गायिका टिका पुन सम्मानित, १४ वटा मौलिक तीज लोकार्पण
काठमाडौँ । प्राज्ञ तथा वरिष्ठ लोक गायिका टिका पुन ‘मौलिक गायन सम्मान’बाट सम्मानित भएकी छन्। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा आइतबार काठमाडौँमा आयोजित ‘सामूहिक मौलिक तीज गीत विमोचन तथा तीज नारी सम्मान कार्यक्रम–२०८३’ का अवसरमा पुनलाई नगद ५ हजार ५ सय ५५ रुपैयाँसहित सम्मान गरिएको हो।
नेपाली लोक तथा मौलिक गीत–संगीतको संरक्षण, प्रवर्द्धन र विकासमा पुर्याएको योगदानको कदर गर्दै पुनलाई सम्मान गरिएको आयोजकले जनाएको छ। लोकगीत तथा मौलिक संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय पुनले नेपाली लोकसंस्कृति र परम्परालाई नयाँ पुस्तासम्म पुर्याउन महत्वपूर्ण योगदान दिँदै आएकी छन्।
कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष ऋता थापाले गायिका पुनले नेपाली लोकसंगीतको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै उनको सिर्जनात्मक यात्राको प्रशंसा गरेकी थिइन्। उनले मौलिक लोकगीतको संरक्षण र प्रवर्द्धनमा पुनको भूमिका महत्वपूर्ण रहेको बताइन्।
त्यस्तै, राष्ट्रिय लोक सञ्चारकर्मी नेपालका अध्यक्ष चन्द्रमणि गौतमले पनि गायिका पुनको योगदानको प्रशंसा गर्दै नेपाली मौलिक गीत–संगीतको संरक्षणमा कलाकारको भूमिका महत्वपूर्ण हुने धारणा राखे।
कार्यक्रममा १४ वटा मौलिक लोकगीतसहित विभिन्न गीतको सामूहिक रूपमा लोकार्पणसमेत गरिएको थियो। तीजको मौलिकता, नेपाली लोकसंस्कृति र परम्परालाई केन्द्रमा राखेर तयार गरिएका गीतहरू सार्वजनिक गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा गायक बसन्त थापा, गायक प्रकाश पराजुलीलगायतका कलाकार तथा सञ्चारकर्मीहरूले नेपाली मौलिक गीत–संगीतको अवस्था, तीज गीतको मौलिकता र यसको संरक्षणका विषयमा धारणा राखेका थिए। इन्द्रेणी कार्यक्रमका कृष्ण कँडेलले पनि नेपाली लोकसंस्कृति तथा कलाकारको योगदानका विषयमा आफ्ना विचार व्यक्त गरेका थिए।
कार्यक्रमका वक्ताहरूले तीज गीत नेपाली समाजको सांस्कृतिक पहिचानसँग जोडिएको विषय भएकाले यसको मौलिकता जोगाउन आवश्यक रहेको बताएका थिए। पछिल्लो समय तीज गीतमा आधुनिकता बढ्दै गए पनि नेपाली मौलिक संस्कृति, परम्परा र सामाजिक मूल्यलाई समेट्ने सिर्जनालाई प्राथमिकता दिनुपर्नेमा उनीहरूले जोड दिए।
सम्मान ग्रहण गर्दै गायिका पुनले आफूले नेपाली लोकगीत तथा संगीत क्षेत्रमा गरेको योगदानको कदरस्वरूप प्राप्त सम्मानले थप जिम्मेवारीबोध गराएको बताइन्। उनले लोकगीत तथा मौलिक संगीतको संरक्षणका लागि कलाकार, सञ्चारकर्मी र नयाँ पुस्ताबीच सहकार्य आवश्यक रहेको धारणा राखिन्।
राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले नेपाली लोककला, संस्कृति, लोकगीत तथा मौलिक सिर्जनाको प्रवर्द्धनसँगै कलाकार र स्रष्टालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाएको छ। संस्थाले मौलिक गीत–संगीतको संरक्षण तथा कलाकारको सम्मानलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाएको छ।
कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार, सञ्चारकर्मी, स्रष्टा तथा लोकसंस्कृतिप्रेमीहरूको सहभागिता रहेको थियो।
