उद्धार र राहतमा राज्य संयन्त्र परिचालन गर्न नेता खतिवडाको आग्रह
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद रामहरि खतिवडाले रसुवामा आएको अप्रत्याशित तथा भीषण बाढीका कारण अवस्था गम्भीर बनेको भन्दै उद्धार र राहतलाई प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन्।
खतिवडाले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय तथा आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन र जोखिममा रहेका नागरिकलाई सुरक्षित रहन अपिल गरेका छन्।
उनले विपद्को समयमा राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरी संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर उद्धार तथा राहतमा केन्द्रित हुन सरकारलाई आग्रह गरेका छन्।
‘रसुवामा अप्रत्याशित र आकस्मिक रूपमा आएको ठूलो बाढीका कारण स्थिति गम्भीर र चिन्ताजनक बनेको छ,’ खतिवडाले भनेका छन्, ‘भोटेकोशी, त्रिशूली नदीको तल्लो तटीय र आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गर्दछु।’
खतिवडाले विपद् व्यवस्थापनका लागि सरकारबाट हुने प्रयासमा नेपाली कांग्रेसको पूर्ण साथ र सहयोग रहनेसमेत बताएका छन्।
उनले बाढीबाट प्रभावित तथा जोखिममा रहेका नागरिकको उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै तत्काल राहत तथा आवश्यक सहयोग पुर्याउन सम्बन्धित सबै निकायलाई आग्रह गरेका छन्।
