`

जसले १२२ जनाको जीवन जोगाए

जङ्‍ग तामाङ १२ भदौ २०८३ ९:५५
फिचर

काठमाडाैं। करिब ९ बजेर ३६ मिनेट। रसुवाको मैलुङमा दिनभरको काम सकेर मजदुरहरू आ-आफ्नो कोठामा आराम गरिरहेका थिए। केही दिनको थकान मेटाउन सुतेका थिए। बाहिर भने पहाडको अँध्यारो रात थियो।

त्यही दिन अचानक भोटेकोशी उर्लियो। केही सेकेन्डमै अवस्था यस्तो भयो, जसको कल्पना त्यहाँ रहेका कसैले पनि गरेका थिएनन्। पानीको ठूलो भेल बस्ती र निर्माणस्थलतर्फ सोझियो। मानिसहरूलाई के भइरहेको छ भन्ने बुझ्नसमेत समय मिलेन।

सुर्खेतको भेरीगंगा नगरपालिका-१३ बेलचौरका सन्दीप राना पनि मैलुङमा मजदुरी गर्छन्। सन्दीप साढे दुई वर्षदेखि रसुवाको मैलुङमा काम गर्दै आएका थिए। उनी पावर चाइनाले निर्माण गरिरहेको २१६ मेगावाटको जलविद्युत् परियोजनामा काम गर्थे।

‘एक्कासि ठूलो बाढी आएको देखेँ। सुरुमा त के भइरहेको हो भन्ने नै बुझिनँ। त्यसपछि भाग्न थालेँ,’ सन्दीप सम्झिन्छन्।

बाढीको भेल बढ्दै थियो। एकछिनमै खतरा नजिक आइपुगिसकेको थियो। तर सन्दीप आफू मात्रै भागेर सुरक्षित हुने बाटोमा गएनन्। उनले कोठाभित्र सुतेका साथीहरू सम्झिए। रातिको काम गरेर थकित भएका उनीहरू गहिरो निद्रामा थिए। करिब ५० जना त्यहीँ सुतेका थिए। सन्दीप फेरि कोठातर्फ दौडिए।

‘रातिको काम गरेर सबै सुतेका थिए। करिब ५० जना थिए। मैले सबैलाई उठाएँ। सबैलाई बाहिर निकाल्न सफल भयौँ। मैले उनीहरूलाई नउठाएको भए त्यो रात सबै जना सुतिरहेकै अवस्थामा बाढीमा पर्न सक्थे,’ उनी भन्छन्।

त्यो केही मिनेटको निर्णयले दर्जनौँ जीवन जोगियो।

परियोजनामा त्यसबेला ७७ जना काममा थिए। बाढीबाट उनीहरू सबै जोगिन सफल भए। एक जनालाई भने चोट लागेको थियो।

तर सन्दीपका लागि त्यो रात मानिसलाई बचाएको क्षण मात्रै थिएन, जीवनकै सबैभन्दा डरलाग्दो अनुभव पनि थियो।

‘त्यतिबेला मेरो सातो गइसकेको थियो। बेहोस हुन्छु जस्तो भएको थियो। एक्कासि यस्तो दृश्य देखेँ कि सुरुमा त लासहरू नै देखिन थाले,’ उनी सुनाउँछन्।

बाढीले सडकमा गुडिरहेका सवारीसाधनसमेत बगाउन थालेको थियो। कतिपय मानिसहरू सवारीसाधनभित्र फसेका थिए। अँध्यारो रातमा पानीको भेलसँगै मान्छेका चिच्याहट सुनिन्थ्यो।

सन्दीपले सकेसम्म मानिसहरूलाई उद्धार गर्ने प्रयास गरे।

‘गाडीहरू बगेर आइरहेका थिए। गाडीभित्र भएका मानिसहरूले हात उठाएर बचाइदिन आग्रह गरिरहेका थिए। त्यो दृश्य अहिले सम्झिँदा पनि मन आत्तिन्छ,’ उनी भन्छन्।

मैलुङमा पावर चाइनाको निर्माणस्थलसँगै सुरक्षाकर्मीका क्याम्पहरू पनि थिए। सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरीका संरचना आसपासमा थिए। बाढीको भेलले ती क्षेत्रलाई समेत प्रभावित बनायो।

सन्दीपले आफूले देखेको त्यो दिनलाई शब्दमा बयान गर्न कठिन हुने बताउँछन्।

‘त्यहाँ मानिसहरू बचाउनका लागि जसरी भागिरहेका थिए, त्यो दृश्य निकै डरलाग्दो थियो। कसैलाई सम्हाल्ने समय थिएन। ज्यान जोगाउने कि अरूलाई बचाउने भन्ने अवस्था थियो,’ उनी भन्छन्।

तर त्यही भयावह परिस्थितिमा सन्दीपले आफ्नो ज्यानको पर्वाह नगरी अरूलाई उठाए, चेतावनी दिए र सुरक्षित स्थानतर्फ लैजान प्रयास गरे।

त्यसबेला उनले १२२ जनाको जीवन जोगाउन महत्वपूर्ण भूमिका खेले।

उनका लागि भने यो कुनै बहादुरी देखाउने काम थिएन।

‘मैले गर्नुपर्ने काम मात्रै गरेको हुँ। आफू बाँचेर अरूलाई मरिरहेको हेर्न सकिँदैन। त्यो अवस्थामा जसले जे सक्थ्यो, त्यही गर्नुपर्थ्यो,’ सन्दीप भन्छन्।

बाढीले मैलुङमा ठूलो विनाश गर्‍यो। कतिपय संरचना क्षणभरमै बगाए। सडक, सवारीसाधन र निर्माणस्थलमा क्षति पुग्यो। धेरै परिवारले आफ्ना आफन्त गुमाए।

तर त्यही अँध्यारो रातमा केही मानिसको समयमै गरिएको निर्णयले ठूलो मानवीय क्षति हुनबाट जोगायो।

करिब ९ बजेर ३६ मिनेटमा सुरु भएको त्यो भयावह क्षणले उनको जीवनमा कहिल्यै नमेटिने छाप छाडेको छ। तर उनीसँग एउटा सन्तोष पनि छ- त्यो दिन आफू डराए पनि अरूलाई समयमै उठाउन सके।

‘अहिले पनि त्यो दिन सम्झिँदा डर लाग्छ। तर ५० जना सुतेका थिए, सबै बाँचे। काममा रहेका ७७ जनामध्ये सबै सुरक्षित भए। त्यही कुरा सम्झिँदा भने खुसी लाग्छ,’ सन्दीप भन्छन्।

रानाले समयमै मानिसलाई उठाएर १२२ जीवनलाई बाढीको भेलबाट जोगाउने एउटा कथा छोडे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *