रसुवा अस्पतालद्वारा आपत्कालीन राहत र औषधीय सामग्रीको माग
प्रमुख खबर
रसुवा। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण उत्पन्न संकट व्यवस्थापनका लागि रसुवा अस्पतालले अत्यावश्यक राहत तथा चिकित्सा सामग्रीहरूको सूची जारी गर्दै तत्काल सहयोगको अपिल गरेको छ। बाढीका कारण विस्थापित र घाइते भएका नागरिकहरूको आकस्मिक उपचार तथा व्यवस्थापनका लागि अस्पतालमा स्रोतसाधनको अभाव भएपछि अस्पताल प्रशासनले यो सहयोगको आह्वान गरेको हो।
अस्पतालले बिरामी र विस्थापितहरूका लागि शय्या व्यवस्थापन गर्न तत्काल ५० थान बेड सिट, ५० थान कम्बल, ३० थान म्याट्रेस र ५० थान सिरानी आवश्यक रहेको जनाएको छ। यसका साथै बाढी प्रभावित नागरिकहरूका लागि टिसर्ट, ट्राउजर र ज्याकेटसहितका पोसाकहरूको समेत ठूलो परिमाणमा आवश्यकता परेको छ।
बाढीका कारण प्रभावित क्षेत्रमा विद्युत् सेवा अवरुद्ध भएकाले अस्पतालले आकस्मिक प्रकाशका लागि २० थान टर्च र इमर्जेन्सी लाइट माग गरेको छ। साथै अस्पतालको ब्याकअप प्रणाली र जेनेरेटरहरू सञ्चालनका लागि आवश्यक पर्ने डिजेल इन्धनको तत्काल प्रबन्ध मिलाउन पनि अनुरोध गरिएको छ।
स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन र चिसोका कारण हुनसक्ने जटिलता रोक्न अस्पतालले १० थान विशिष्ट चिकित्सकीय उपकरण ‘फ्लुइड वार्मर’ उपलब्ध गराइदिन आग्रह गरेको छ। यसका साथै अस्पतालमा आश्रय लिइरहेकाहरूका लागि आपत्कालीन खाद्य आपूर्ति र स्वच्छ पिउने पानीको व्यवस्था गर्नुपर्ने चुनौती थपिएको छ।
अस्पताल प्रशासनका अनुसार टिमुरे क्षेत्रमा अलपत्र परेका र उद्धार गरिएका नागरिकहरूको स्वास्थ्य उपचारलाई निरन्तरता दिन यी सामग्रीहरू अपरिहार्य बनेका छन्। सञ्चार र यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएकाले सरकारी निकाय, रेडक्रस तथा गैरसरकारी संस्थाहरूलाई उद्धार टोलीसँगै यी राहत सामग्रीहरू पनि तत्काल रसुवा अस्पतालसम्म पुर्याइदिन अपिल गरिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
