रसुवाको हाइड्रो सुरुङमा उद्धार जारी, दुई जनालाई सकुशल निकालियो
काठमाडौं। बाढीका कारण रसुवाको एक जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको उद्धारमा नेपाली सेनाले बिहानैदेखि विशेष अभियान सञ्चालन गरिरहेको छ।
जोखिमपूर्ण भूगोल र सुरुङभित्रको कठिन अवस्थाबीच सेनाको उद्धार टोलीले दुई जनालाई सुरक्षित रूपमा बाहिर निकालिसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
सुरुङभित्र अझै मानिसहरू फसेको हुन सक्ने भएकाले सेनाले खोजीलाई निरन्तरता दिएको छ। सुरुङमा कति जना व्यक्ति रहेका छन् भन्नेबारे पनि यकिन विवरण संकलन भइरहेको छ।
उद्धारका क्रममा विशेष तालिम प्राप्त जनशक्तिसँगै आवश्यक प्राविधिक उपकरण प्रयोग गरिएको छ। सुरुङको साँघुरो र जोखिमयुक्त अवस्थालाई ध्यानमा राख्दै सेनाको टोलीले चरणबद्ध रूपमा सम्भावित स्थानमा खोजी गरिरहेको छ।
बाढीले जलविद्युत् आयोजनाका विभिन्न संरचनामा क्षति पुर्याएकाले उद्धारका क्रममा थप जोखिमको मूल्यांकनसमेत भइरहेको छ।
सुरुङभित्र रहेका अन्य व्यक्तिलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाली सेनाको टोली निरन्तर परिचालित रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
