`

संसद रोकियो, क्यालेन्डर अलपत्र; विधेयकदेखि प्रश्नोत्तरसम्म ठप्प

Nepal One HD १६ भदौ २०८३ ११:१६
बिशेष

काठमाडौं। प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएपछि संसद्को पूर्वनिर्धारित कार्यतालिका प्रभावित भएको छ।

संसदीय क्यालेन्डरअनुसार सोमबार र मंगलबार प्रतिनिधिसभाको बैठक बस्ने तय भए पनि दुवै दिन बैठक हुन सकेन । अब प्रतिनिधिसभाको बैठक कहिले बस्ने भन्ने विषयसमेत टुंगो लागेको छैन ।

संघीय संसद् सचिवालयले भदौ १० गते सूचना जारी गर्दै प्रतिनिधिसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको थियो । त्यसयता संसद् बैठक सञ्चालनको नयाँ मिति तय हुन सकेको छैन । बैठक रोकिँदा संसद्का नियमित कामकारबाहीसँगै क्यालेन्डरमा समावेश विधेयक, सम्झौता तथा प्रश्नोत्तर कार्यक्रमसमेत प्रभावित भएका छन् ।

संसदीय क्यालेन्डरअनुसार सोमबार प्रतिनिधिसभाको बैठक बसेको भए कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । त्यसपछि सांसदहरूका लागि शून्य समय सञ्चालन गर्ने तथा विभिन्न मन्त्रालय र निकायसँग सम्बन्धित वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने सम्भावित कार्यक्रम पनि राखिएको थियो ।

तर बैठक नै स्थगित भएपछि सोमबारका लागि तय गरिएका यी काम अघि बढ्न सकेनन् । विधेयकमाथिको प्रक्रिया अगाडि नबढ्दा त्यससँग सम्बन्धित आगामी संसदीय कामकारबाहीसमेत प्रभावित हुने देखिएको छ ।

त्यस्तै, मंगलबारका लागि पनि प्रतिनिधिसभामा महत्वपूर्ण विषय समेटिएको थियो । क्यालेन्डरअनुसार संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौता माथि सामान्य छलफल गर्ने कार्यक्रम थियो ।

मंगलबारकै सम्भावित कार्यसूचीमा शून्य समय र विशेष समय सञ्चालन गर्ने तथा विभिन्न मन्त्रालयसँग सम्बन्धित सांसदका प्रश्नको जवाफ दिने प्रश्नोत्तर कार्यक्रम पनि राखिएको थियो । बैठक नबसेपछि यी कार्यक्रम पनि अघि बढ्न सकेनन् ।

प्रतिनिधिसभाको बैठक नियमित रूपमा सञ्चालन हुन नसकेपछि अब क्यालेन्डरअनुसार तय भएका आगामी कार्यक्रम कसरी व्यवस्थापन गर्ने भन्ने प्रश्न उठेको छ । यस विषयमा छलफल गर्न प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

सिंहदरबारमा बस्ने समितिको बैठकले प्रतिनिधिसभाको बैठक पुनः बोलाउने मिति, बाँकी कार्यसूची र स्थगित भएका कार्यक्रमलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गर्नेछ । बैठकको नयाँ मिति तय भएपछि यसअघि छुटेका कार्यसूचीलाई प्राथमिकताका आधारमा समायोजन गर्ने तयारी छ ।

यसअघि तयार गरिएको संसदीय क्यालेन्डरमा आगामी बैठकका दिन र सम्भावित कार्यसूचीसमेत निर्धारण गरिएको थियो । त्यसमध्ये बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम पनि समावेश थियो ।

संसदीय क्यालेन्डरको उद्देश्य प्रतिनिधिसभाको कामकारबाहीलाई नियमित, व्यवस्थित र पूर्वानुमानयोग्य बनाउनु भए पनि बैठक नै अनिश्चितकालका लागि रोकिएपछि त्यसको प्रभाव प्रत्यक्ष रूपमा देखिएको छ ।

विधेयक अघि बढाउनेदेखि सांसदका प्रश्न, शून्य तथा विशेष समय र सरकारका प्रतिवेदन पेस गर्ने कामसम्म प्रभावित भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *