टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा फेला
काठमाडौं । रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत अधिकृत नकुल शर्माको शव गोरखामा फेला परेको छ ।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका शर्माको शव गोरखाको गण्डकी गाउँपालिका–८, भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको हो ।
हुम्लाको ताँजाकोट गाउँपालिका–२ घर भएका शर्मा भदौ ९ गते रसुवा भन्सार कार्यालयमा हाजिर भएका थिए । कार्यालयमा हाजिर भएको भोलिपल्टै भोटेकोशीमा आएको बाढीपछि उनी बेपत्ता भएका थिए ।
गोरखाको प्रादेशिक अस्पतालमा राखिएको शवको पहिचान शारीरिक बनावट, अनुहार, दाह्री–कपाल, हातको बुढीऔँलामा रहेको पुरानो खत तथा दाँतको बनावटलगायतका आधारमा गरिएको हो ।
पहिचान खुलेपछि आफन्तले शव बुझेका छन् । शर्माको खोजीमा परिवारका सदस्यहरू चितवन, नवलपरासी, गोरखा हुँदै पोखरासम्म पुगेका थिए ।
शर्माका बुवा, आमा, श्रीमती र दुई छोरा छन् । उनी यसअघि इलामको पशुपतिनगर भन्सार कार्यालयमा कार्यरत थिए ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बाढीपछि गोरखातर्फ पर्ने त्रिशूली नदीको तटीय क्षेत्रमा मात्रै हालसम्म ६५ जनाको शव फेला परिसकेको छ ।
