ज्ञानेन्द्रको दाबीमा रञ्जुको प्रतिवाद
काठमाडौं । रसुवा बाढीपछि सुरुङमा फसेकाहरूको उद्धारका विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाबीच आरोप-प्रत्यारोप चलेको छ।
शाहीले आफूलाई फोटो खिचाउन हेलिकप्टरमा रसुवा जान भनिएको दाबी गरेपछि दर्शनाले त्यसको खण्डन गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ब्रिफिङमा भएको कुराकानी सार्वजनिक गरेकी हुन्।
दर्शनाका अनुसार प्राधिकरणको ब्रिफिङमा शाहीले सुरुङमा धेरै मानिस फसेको जानकारी दिएका थिए। उनका अनुसार भागेर आएका एक व्यक्तिले सुरुङभित्र धेरै मानिस रहेको जानकारी दिएको शाहीले बताएका थिए।
त्यसपछि गृहमन्त्रीले उद्धारलाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै शाही र ती व्यक्तिलाई भोलिपल्टको पहिलो हेलिकप्टरबाट उद्धार टोलीसँगै रसुवा पठाउने प्रस्ताव गरेका थिए। दर्शनाले शाहीकै सहमतिमा दुवै जना जाने तय भएको र आफूहरू त्यसको प्रत्यक्षदर्शी रहेको दाबी गरेकी छन्।
उनले अहिले विवाद वा विषयलाई बङ्ग्याउने समय नभएको बताउँदै पावरहाउस र सुरुङमा अझै मानिस बेपत्ता रहेकाले उद्धारलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन्।
यसअघि शाहीले भने आफूलाई गृहमन्त्रीले हेलिकप्टरमार्फत रसुवा जान आग्रह गरेको बताएका थिए। आफू सुरुङ उद्धारको विज्ञ नभएकाले त्यहाँ गएर फोटो खिचाउने वा प्रचार गर्ने काम नगर्ने जवाफ दिएको उनको दाबी थियो।
शाहीले आफूलाई लैजानुको सट्टा सुरुङ उद्धारमा प्राविधिक ज्ञान र अनुभव भएका विशेष टोली पठाउन आग्रह गरेको बताएका छन्। अहिले फोटो खिचाउने व्यक्ति नभई नागरिकको जीवन बचाउन सक्ने दक्ष टोली आवश्यक रहेको उनको भनाइ थियो।
सुरुङभित्र जमेको हिलो अझै नहटाइएको भन्दै शाहीले आफूलाई हेलिकप्टरमा लैजानुभन्दा हिलो हटाउन आवश्यक मेसिन र उपकरण तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।
यसरी एउटै घटनालाई लिएर शाही र दर्शनाको दाबी फरक देखिएको छ। शाहीले आफूलाई उद्धारभन्दा प्रचारका लागि लैजान खोजिएको अर्थमा गृहमन्त्रीको प्रस्तावको विरोध गरेको बताएका छन् भने दर्शनाले उद्धार टोलीसँगै जान शाहीको सहमति भएको दाबी गरेकी छन्।
