अहिलेको मुख्य काम जनतालाई राहत र भरोसा दिनु हो -ओली
काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवा बाढीपछि नुवाकोटको त्रिशूली पुगेर प्रभावित क्षेत्रको अवस्था नियालेका छन् । निरीक्षणपछि उनले बाढीले पुर्याएको क्षति अकल्पनीय र अपूरणीय रहेको बताए ।
ओलीका अनुसार यसपटक बाढीको बहाव र त्यसको प्रकृति अस्वाभाविक थियो । मानिसले ज्यान जोगाएर भाग्ने समयसमेत नपाउने गरी बस्तीमा पानी पसेको उनको भनाइ छ ।
‘खोलाको सिमाना नै नरहने गरी आएको असाधारण बाढीले हजारौँ भौतिक संरचना ध्वस्त पारेको छ,’ उनले भने, ‘झाडी र घरका छतमा शव भेटिनु अत्यन्तै हृदयविदारक छ ।’
ओलीले अब उद्धार र राहतमा मात्र सरकार सीमित हुन नहुने बताए । सडक, पुललगायत भौतिक संरचनासँगै विस्थापितको आवास, स्वास्थ्य, शिक्षा र रोजगारीका लागि दीर्घकालीन पुनर्निर्माण योजना आवश्यक रहेको उनको भनाइ छ ।
बालबालिकाको पढाइ रोक्न नहुने र बिरामीले नियमित औषधि पाउने व्यवस्था मिलाउन सरकार गम्भीर हुनुपर्ने उनले बताए ।
उच्च पदस्थको प्रभावित क्षेत्र भ्रमण औपचारिकतामा सीमित हुन नहुने टिप्पणी गर्दै ओलीले सरकारको प्रभावकारिता पीडित जनताले प्रत्यक्ष अनुभूति गर्नुपर्ने बताए ।
‘अहिलेको मुख्य काम जनतालाई राहत र भरोसा दिनु हो,’ उनले भने, ‘राहत र उद्धारको गति अझ बढाउनुपर्छ ।’
सरकारी संयन्त्रलाई थप सक्रिय बनाउनुपर्नेमा जोड दिँदै ओलीले एमालेले पनि प्रभावितको राहत तथा सहयोगमा आफ्नो भूमिका बढाउने बताए ।
