`

जापानसँग खेल्दै नेपाल, भारत र अफगानिस्तान पनि भिड्दै

Nepal One HD २० भदौ २०८३ १३:०८
खेलकुद

काठमाडौं । जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर निकै व्यस्त हुने भएको छ । टोलीले आठ दिनको अवधिमा चार फरक देशका टोलीसँग पाँच टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

जापानले सेप्टेम्बर १९ र २० मा हङकङसँग लगातार दुई खेल खेल्दै व्यस्त यात्राको सुरुवात गर्नेछ । एसिया कपमा पाँचपटक सहभागिता जनाइसकेको हङकङविरुद्धको खेल जापानका लागि बलियो परीक्षण हुनेछ ।

त्यसपछि जापानको सामना भारतसँग हुनेछ । सेप्टेम्बर २२ मा हुने यो खेल जापानी क्रिकेटका लागि विशेष मानिएको छ । साविक टी–२० विश्वकप विजेता भारतसँग खेल्नु जापानका लागि अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय चुनौतीमध्ये एक हुनेछ ।

सेप्टेम्बर २४ मा जापानले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । सन् २०२४ को टी–२० विश्वकपको सेमिफाइनलसम्म पुगेको अफगानिस्तानविरुद्धको खेल पनि जापानी टोलीका लागि कठिन परीक्षा बन्नेछ ।

जापानको व्यस्त यात्राको अन्तिम खेल भने नेपालसँग हुनेछ । सेप्टेम्बर २६ मा हुने खेलमा एसियाकै बलियो एसोसिएट टोलीमध्ये रहेको नेपालसँग जापानले आफ्नो क्षमता जाँच्ने अवसर पाउनेछ ।

छोटो समयमै पाँच उच्चस्तरीय खेल खेल्नुपर्ने भएकाले जापानी टोलीका लागि यो तालिका शारीरिक र मानसिक दुवै हिसाबले चुनौतीपूर्ण देखिन्छ ।

तर भारत, अफगानिस्तान र नेपालजस्ता अनुभवी टोलीसँगको भिडन्तले जापानी क्रिकेटलाई अन्तर्राष्ट्रिय अनुभव बटुल्ने ठूलो अवसर दिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *