राज्यको लक्षण राम्रो देखिएको छैन : प्रचण्ड [भिडियाे]
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीति, कर्मचारीतन्त्र तथा राज्यका विभिन्न निकायहरू अन्योलपूर्ण अवस्थामा रहेको टिप्पणी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले वर्तमान सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै सरकारले राम्रो काम गरे सहयोग र समर्थन गर्ने तथा नराम्रो काम गरे त्यसको विरोध र आलोचना गर्ने आफ्नो नीति रहेको स्पष्ट पारे।
पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्दै उनले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजलाई राष्ट्र तथा जनताप्रति थप गम्भीर र जिम्मेवार भएर काम गर्न आग्रह गरे।
‘अहिले कता–कता नेपाली राजनीति पनि, नेपाली कर्मचारीतन्त्र पनि र सबै राज्यका निकायहरू अलि बढी अन्योलमा भएको देखिन्छ। सुरुदेखि हामीले भनेका छौँ, राम्रो गर्नुस् सहयोग हुन्छ, समर्थन हुन्छ। नराम्रो गर्दा आलोचना हुन्छ, टिप्पणी हुन्छ, विरोध हुन्छ। हरेक क्षेत्रमा हामीले त्यही भन्दै आएका छौँ, अहिले पनि हाम्रो त्यही भनाइ रहिआएको छ। तर लक्षण राम्रो देखिएको छैन,’ प्रचण्डले भने।
उनले देशको स्वतन्त्रता, स्वाधीनता र भौगोलिक अखण्डतालाई सर्वोपरी राख्नुपर्नेमा जोड दिए। लामो राजनीतिक संघर्षबाट प्राप्त लोकतन्त्र र स्वतन्त्रताको रक्षाका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने उनको भनाइ छ।
प्रचण्डले राजनीतिक नेतृत्व, कर्मचारी तथा नागरिक समाजसहित समाजका सचेत नागरिकहरू राष्ट्र र जनताप्रति थप जिम्मेवार बन्नुपर्ने बताए।
‘तर हामीले फेरि राजनीतिक नेतृत्वले, कर्मचारीहरूले, नागरिक समाजले, सबै समाजका सचेत नागरिकहरूले फेरि राष्ट्रप्रति, जनताप्रति, आफ्नो स्वतन्त्रता र स्वाधीनताप्रति अझ गम्भीर, अझ जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता छ,’ उनले भने।
राष्ट्र नै सबैभन्दा महत्वपूर्ण विषय भएको उल्लेख गर्दै उनले देशको स्वाधीनता, भौगोलिक अखण्डता तथा लामो संघर्षबाट प्राप्त स्वतन्त्रता र लोकतन्त्रको संरक्षणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए।
‘सबभन्दा ठूलो कुरो राष्ट्र नै हो। हामी सबैले राष्ट्रको स्वाधीनता, देशको अखण्डता र हामीले लामो संघर्षबाट प्राप्त गरेको स्वतन्त्रता, लोकतन्त्र यसको रक्षामा केन्द्रित हुने आवश्यकता छ,’ प्रचण्डले भने।
