साउदीलाई हराएर सेमिफाइनल पुग्ने दाउमा नेपाल
काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आइतबार साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ। मलेसियामा जारी प्रतियोगिताअन्तर्गत क्वालालम्पुरस्थित बायुमास ओभलमा हुने खेलमा जित निकाल्न सके नेपाल समूह ‘ए’ बाट सेमिफाइनलमा पुग्नेछ।
नेपालले प्रतियोगितामा प्रभावशाली सुरुवात गरेको छ। पहिलो खेलमा बहराइनलाई ७ विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक मलेसियामाथि ६ विकेटको जित हात पारेको थियो। दुवै खेलमा नेपाली बलरले विपक्षी ब्याटिङलाई लामो समय क्रिजमा टिक्न दिएनन्।
बहराइनविरुद्ध कप्तानीमा फर्किएका सन्दीप लामिछानेले घातक बलिङ गर्दै ५ विकेट लिएपछि बहराइन ३७ ओभरभित्रै ८७ रनमा समेटिएको थियो। ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिएर सन्दीपलाई साथ दिएका थिए।
मलेसियाविरुद्ध पनि नेपालको बलिङ प्रभावशाली रह्यो। पछिल्लो समय उत्कृष्ट लयमा रहेका करण केसीले ४ विकेट लिएपछि मलेसिया ३३ ओभरमै १०३ रनमा अलआउट भएको थियो। ललित राजवंशीले २ विकेट लिएका थिए।
यता साउदी अरेबियाको सुरुवात भने मिश्रित छ। पहिलो खेलमा हङकङसँग १६ रनले र दोस्रो खेलमा मलेसियासँग ९३ रनले पराजित भएको साउदीले शुक्रबार बहराइनलाई १७ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको थियो।
साउदीलाई नेपालले सहज प्रतिद्वन्द्वीका रूपमा भने लिएको छैन। हङकङविरुद्ध २७४ रनको लक्ष्य पछ्याएको साउदी जितको नजिक पुगेको थियो। त्यस्तै बहराइनविरुद्ध २२१ रनको लक्ष्य रक्षा गर्दै उसले विपक्षीलाई २०४ रनमै रोक्न सफल भएको थियो। यी प्रदर्शनले साउदीको ब्याटिङ र प्रतिस्पर्धात्मक क्षमता देखाउँछ।
नेदरल्यान्ड्स भ्रमणमा कमजोर प्रदर्शनपछि नेपाली टोलीमा व्यापक परिवर्तन गरिएको थियो। त्यसपछि टोलीमा अवसर पाएका अर्जुन कुमालले ओपनिङमा आत्मविश्वास देखाइरहेका छन्। यद्यपि, उनका ओपनिङ साझेदार आसिफ शेखले भने सुरुआती दुई खेलमा अपेक्षाअनुसार प्रदर्शन गर्न सकेका छैनन्। उनले दुई खेलमा जम्मा १८ रन बनाएका छन्।
नेपालले यसअघि सन् २०२३ मा एकदिवसीय संरचनाको एसीसी प्रिमियर कपको उपाधि जित्दा प्रतियोगितामा अपराजित यात्रा गरेको थियो। तर त्यतिबेला साउदी अरेबियासँगको खेल भने वर्षाका कारण रद्द भएको थियो। मूलपानीमा तय भएको उक्त खेलमा एक बल पनि नफाली खेल रद्द भएको थियो।
नेपाल र साउदीबीच सन् २०१२ मा दुबईमा भएको एसीसी ट्रफी एलिटको अन्तिम संस्करणमा भने प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा नेपालले साउदी अरेबियालाई ९ विकेटले पराजित गरेको थियो।
समूह ‘ए’ मा नेपाल ४ अंकसहित शीर्ष स्थानमा छ। हङकङको पनि ४ अंक छ। शनिबार हङकङले मलेसियालाई सुपर ओभरमा हराएपछि समूहको समीकरण थप रोचक बनेको छ। मलेसियाको भने २ अंक मात्र छ।
नेपालले साउदीलाई हराए सेमिफाइनल स्थान सुरक्षित गर्नेछ। त्यसपछि मंगलबार हङकङसँग हुने अन्तिम खेल समूह विजेता बन्ने दौडका लागि महत्वपूर्ण हुनेछ।
मलेसियाको सेमिफाइनल पुग्ने सम्भावना भने नेपाल र हङकङबीचको नतिजामा निर्भर रहनेछ। नेपालले अन्तिम खेलमा हङकङलाई पराजित गरेमा मात्र मलेसियाको अन्तिम चारमा पुग्ने सम्भावना कायम रहनेछ।
