`

१ सय ९१ रनको लक्ष्य पछ्याउदै नेपाल

Nepal One HD २१ भदौ २०८३ ११:१७
खेलकुद

काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेटमा साउदी अरेबियाले नेपालसामु १ सय ९१ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियामा जारी प्रतियोगिताअन्तर्गत क्वालालम्पुरस्थित बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १ सय ९१ रनमा अलआउट भयो।

साउदीविरुद्धको खेल जिते नेपाल लगातार तेस्रो जित निकाल्दै प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ। नेपालले यसअघि बहराइनलाई ७ विकेट र आयोजक मलेसियालाई ६ विकेटले पराजित गरेको थियो। साउदी अरेबियाले भने तीन खेलमध्ये एकमा जित र दुईमा हार बेहोरेको छ।

साउदी अरेबियाका लागि ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रन बनाए। उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे। उनलाई ललित राजवंशीले ३०औँ ओभरमा एलबीडब्ल्यु आउट गरे।

नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दै १९ रन मात्र खर्चिए। नेपालका स्पिनरले साउदी अरेबियाका ९ विकेट लिए।

सन्दीपबाहेक दीपेन्द्रसिंह ऐरीले ३ तथा ललित राजवंशीले २ विकेट लिए। दीपेन्द्रले ९.२ ओभरमा ४३ रन खर्चिए भने ललितले १० ओभरमा ३ मेडनसहित २६ रन दिए।

नेपालले तीव्र गतिका बलर हेमन्त धामीको स्थानमा शेर मल्ललाई प्लेइङ–११ मा समावेश गर्दै स्पिन आक्रमणलाई बलियो बनाएको थियो। अफ स्पिनर शेरले १० ओभरमा ३६ रन खर्चेर १ विकेट लिए। तीव्र गतिका बलर गुलशन झाले पनि १ विकेट लिए, तर उनी केही महँगा साबित भए। गुलशनले ४ ओभरमा ३४ रन खर्चिए।

साउदीको इनिङ्समा मोहम्मद अतिफले ३० रन बनाए। गुलशन झाले अतिफलाई बोल्ड गर्दै अब्दुल वाहिदसँगको उनको साझेदारी तोडे। अतिफले ६८ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

साउदीका कप्तान वाजि उल हसनलाई ललितले खेलको दोस्रो ओभरमै बोल्ड गरेपछि वाहिद र अतिफले दोस्रो विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए।

वाहिद आउट भएपछि भने नेपालले लगातार विकेट लिन थाल्यो। मध्यक्रममा मोहम्मद हिसाम शेखले २८ रन बनाए। उनले ५० बलमा १ चौका प्रहार गरे।

इनिङ्सको अन्त्यतिर मोहम्मद सकिब र इस्तियाक अहमदले २४ रनको साझेदारी गरे। अन्तिम ओभरमा सकिबलाई दीपेन्द्रले आउट गरे। उनले १३ बलमा १ छक्कासहित १४ रन बनाए। इस्तियाक १४ बलमा १० रन बनाएर अविजित रहे।

अब नेपालले १ सय ९१ रनको लक्ष्य पछ्याउँदै साउदी अरेबियाविरुद्ध जित निकालेर सेमिफाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्य राखेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *