बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पठाउँदै रामहरि खतिवडा
काठमाडौं। राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति तथा पुर्वसांसद रामहरि खतिवडाले बाढी प्रभावित नागरिकका लागि राहत सामग्री पठाउने भएका छन्।
खतिवडाको पहलमा आवश्यक खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री बोकेको एउटा गाडी आज राति प्रभावित क्षेत्रतर्फ पठाउन लागिएको हो।
खतिवडाको सचिवालयका सचिव प्रतीक खतिवडाका अनुसार बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री संकलन गरी गाडीमार्फत पठाउने तयारी गरिएको छ। सचिव खतिवडाले भने, ‘बाढी र पहिरोका कारण प्रभावित क्षेत्रमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको आवश्यकता बढिरहेको अवस्थामा राहत सामग्री पठाउन लागिएको हो।’
सडक तथा यातायात प्रभावित भएका कारण कतिपय क्षेत्रमा आवश्यक सामग्री पुर्याउनसमेत कठिनाइ भइरहेको छ।
राहत सामग्री बोकेको गाडी आज राति प्रभावित क्षेत्रतर्फ पठाइने र सम्बन्धित ठाउँमा पुगेपछि आवश्यकताअनुसार प्रभावित नागरिकलाई सामग्री उपलब्ध गराइने सचिवालयले जनाएको छ।
विपत्तिका कारण घरबार तथा सम्पत्तिमा क्षति पुगेका परिवारलाई तत्काल खाद्यान्न तथा अन्य आधारभूत सामग्रीको आवश्यकता रहेकाले राहत वितरणलाई प्राथमिकता दिइएको सचिव खतिवडाले बताए।
उनका अनुसार प्रभावित नागरिकलाई तत्काल राहत पुर्याउने उद्देश्यले अहिलेको सहयोग अघि बढाइएको हो।
प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप सहयोगका लागि पनि पहल गरिने जनाइएको छ।

