साउदीलाई ५ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौं। नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ।
समूह चरणमा लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले आइतबार साउदी अरेबियालाई ५ विकेटले हराउँदै एक खेल बाँकी छँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।
साउदीले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो। गुल्शन झा ४४ रनमा अविजित रहे भने कप्तान रोहित पौडेलले नटआउट २४ रन बनाए।
इशान पान्डेले ४० र देव खनालले ३९ रन जोडे। आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रनको योगदान दिए।
साउदीका इस्तियाख अहमद र मुहम्मद आतिफले २–२ विकेट लिए भने मोहम्मद हिशमले एक विकेट हात पारे।
यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरेबिया ४९.२ ओभरमा १९० रनमा अलआउट भएको थियो। उसका लागि अब्दुल वाहीदले सर्वाधिक ७७ रन बनाए। मोहम्मद आतिफले ३० तथा मोहम्मद हिशम शेखले १८ रन जोडे।
नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा १९ रन खर्चेर ३ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले पनि ३ विकेट लिए भने ललित राजवंशीले २ र शेर मल्लले १ विकेट हात पारे।
नेपालले यसअघि बहराइन र मलेसियालाई पराजित गरेको थियो। तीन खेलबाट तीनै जित निकालेको नेपाल अब समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग भिड्नेछ।
हङकङसँगको खेलपछि समूह विजेताको टुंगो लाग्नेछ।
