रसुवा-नुवाकोटका बाढीपीडितलाई कांग्रेसको १ करोड सहयोग
काठमाडौं। रसुवा, नुवाकोटलगायतका बाढीपहिरो प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले सरकारलाई १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी उक्त रकम बराबरको चेक सरकारलाई हस्तान्तरण गरेको हो। कांग्रेस महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले अर्थमन्त्रीसमक्ष चेक हस्तान्तरण गरेको थियो। टोलीमा कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे तथा रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्यलगायत नेताहरू सहभागी थिए।
केही दिनअघि रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी, त्रिशूलीलगायतका नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीपहिरोका कारण कैयौँ परिवार विस्थापित हुनुका साथै सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा व्यापक क्षति पुगेको छ।
महामन्त्री पौडेलले विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल राहत, स्वास्थ्योपचार र सुरक्षित आवासको व्यवस्था गर्न सहयोग पुग्ने उद्देश्यले पार्टीका तर्फबाट रकम उपलब्ध गराइएको बताए। उनले संकटको घडीमा नेपाली कांग्रेस बाढीपीडित नागरिकको साथमा रहेको समेत बताए।
पौडेलले बाढीपहिरोका कारण सुरुङमार्गलगायत विभिन्न स्थानमा फसेका तथा अलपत्र नागरिकको उद्धारमा भएको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउँदै उद्धार कार्यलाई तीव्र बनाउन आग्रह गरे। साथै, त्रिशूली र भोटेकोशी आसपासका प्रभावित नागरिकको उद्धार तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण युद्धस्तरमा अघि बढाउन माग गरे।
राहत वितरणलाई पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै पौडेलले बेपत्ताको खोजी, विस्थापितको पुनर्स्थापना र समग्र विपद् व्यवस्थापनमा सरकारलाई आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको प्रतिबद्धता जनाए।
कांग्रेसले यसअघि पनि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा अन्य सहयोगका लागि आफ्ना विभिन्न संरचना परिचालन गर्दै आएको जनाएको छ। पार्टी सभापति गगन थापाको नेतृत्वमा सरकारलाई आवश्यक सुझाव तथा दबाब दिने काम भइरहेको र थापाले दुईपटक घटनास्थलको अवलोकन गरिसकेको कांग्रेसले जनाएको छ।
