कैद नारी जीवन र स्वतन्त्रताको किस्सा : ‘झोला’
काठमाडौं। नेपाल आधुनिक समाज र आधुनिक राज्य व्यवस्थाको परिकल्पनाअघि कस्तो थियो ? यसअघि नेपालमा सामाजिक जीवन अनेकौँ कुप्रथा, अन्धविश्वास र कठोर परम्पराले बाँधिएको थियो। यद्यपी नेपालका अनेकन् सुन्दरतम् पक्षहरू पनि थिए।
तीमध्ये सती प्रथा नेपाली समाजको एउटा यस्तो अमानवीय कुप्रथा थियो, जहाँ श्रीमानको मृत्युमा श्रीमानको चितासँगै श्रीमतीको जिन्दगी जल्थ्यो। सती प्रथा जस्तो कुप्रथाको चपेटामा इतिहासमा धेरै महिलाले ज्यान गुमाउनुपर्यो।
श्रीमानको चितामा जिउँदै जल्नुपर्ने बाध्यताले महिलाको अस्तित्व, इच्छा र स्वतन्त्रतालाई कसरी कुल्चिएको थियो भन्ने पीडादायी इतिहासलाई नेपाली चलचित्र ‘झोला’ले पर्दामा उतारेको छ।
विगतको यही कठोर सामाजिक यथार्थलाई केन्द्रमा राखेर बनेको ‘झोला’ले सती प्रथाको अमानवीय स्वरूपलाई प्रस्तुत गरेको छ। महिलामाथि हुने अमानवीय व्यवहार, सामाजिक दबाब र कठोर परम्पराले सिर्जना गरेको पीडालाई चलचित्रले यथार्थपरक रूपमा प्रस्तुत गरेको छ।
नेपाली चलचित्र ‘झोला’ वि.सं. २०७१ मा कृष्ण धरावासीको प्रसिद्ध कथासंग्रह ‘झोला’मा आधारित रहेर यादवकुमार भट्टराईको निर्देशनमा प्रदर्शन भएको हो। कथाको मुख्य पात्र पुण्य (गरिमा पन्त) नामकी युवती आफ्नो श्रीमानको मृत्युपछि जबरजस्ती सती प्रथाको सिकार बन्न बाध्य हुन्छिन्।
चलचित्रको कथा पुण्य नामकी एक सरल, निर्दोष र संवेदनशील महिलाको जीवन वरिपरि केन्द्रित छ। पुण्यको विवाह समाजका मान्यताअनुसार हुन्छ र ऊ आफ्नो वैवाहिक जीवनमा रमाइरहेकी हुन्छिन्। तर लामो समयदेखि अस्वस्थ रहेका उनका श्रीमानको एकदिन अचानक मृत्यु भएपछि उनको जीवन बदलिन्छ। समाजका मुखिया र परम्परागत सोच बोकेका मानिसहरूले पुण्यलाई सती जान बाध्य पार्छन्।
महिलालाई जबरजस्ती जलाएर मारिन्थ्यो। यदि कुनै महिला आगोले पोलेर चिताबाट भागेमा उसलाई ढुंगाले हानेर मार्ने गरिन्थ्यो। श्रीमानको मृत्यु पश्चात् महिला पनि मर्नुपर्छ भन्ने कुप्रथा हाम्रो नेपाली समाजमा थियो। समाज, धर्म, परम्परा र पुरुषप्रधान सोचले महिलामाथि कसरी अत्याचार गर्छ भन्ने यथार्थ चलचित्रमा देखाइएको छ। महिलाको पीडा, मौनता, डर र संघर्षलाई अत्यन्त संवेदनशील ढंगले प्रस्तुत गरिएको छ।
पुण्यको मनभित्र बाँच्ने इच्छा, डर, पीडा र असहाय अवस्था भए पनि उसले आफ्ना भावना व्यक्त गर्न सक्दिनन्। समाजले उनलाई बोल्ने अधिकारसम्म पनि दिँदैन। उनलाई सेतो कपडा लगाइन्छ, गरगहना खोसेर झोलामा हालेर चितातर्फ लगिन्छ। यही झोला चलचित्रको सबैभन्दा मार्मिक पक्ष हो, जसले महिलाको स्वतन्त्रता र अस्तित्वमाथि भएको हिंसा र दमनलाई दर्शाएको छ।
चलचित्रमा मुख्य पात्रका रूपमा गरिमा पन्त, दीपक क्षेत्री, देशभक्त खनाल, लक्ष्मी गिरी, प्रल्हादकुमार खतिवडा रहेका छन्। चलचित्रमा सबै कलाकारहरूले अभिनय अत्यन्तै प्रभावशाली ढंगले गरेका छन्। चलचित्रमा संवाद कम छ तर भाव, दृश्य र संगीतले चलचित्रलाई गहिरो रूपमा प्रस्ट्याएको छ।
निर्देशकले संवादभन्दा बढी दृश्य, प्रतीक र मौनताको प्रयोग गरेका छन्। यसले चलचित्रलाई अझै मार्मिक बनाएको छ भनेपृष्ठभूमि, संगीत, प्राकृतिक दृश्य, गाउँघरको परिवेश र समयअनुसारको भेषभूषाले चलचित्रलाई ऐतिहासिक रूपमा स्पष्ट र विश्वासिलो बनाएको छ।
‘झोला’ एउटा चलचित्र मात्र नभई विगतमा महिलाले भोग्नुपरेको अन्यायविरुद्ध उठाइएको आवाज पनि हो। यसले दर्शकलाई सोच्न बाध्य बनाउँछ। समाजमा रहेका सामाजिक कुरीतिविरुद्ध चेतना फैलाउन यो चलचित्रले महत्त्वपूर्ण भूमिका खेलेको छ।
चलचित्रले दिन खोजेको सन्देश आजसम्म रहेका समाजका महिला हिंसा, विभेद, दमन तथा परम्परा र धर्मका नाममा हुने अत्याचारप्रति दिइएको चेतावनी हो। चलचित्रले दर्शकलाई प्रश्न गर्न बाध्य बनाउँछ, के परम्परा सधैँ सही नै हुन्छ ? के धर्मको नाममा महिलामाथि अत्याचार गर्न मिल्छ ? र महिलाको जीवनको मूल्य के हो ?
नेपाली चलचित्र ‘झोला’ सामाजिक यथार्थमा आधारित एक ऐतिहासिक, चेतनामूलक र प्रभावशाली चलचित्र हो।
यसले नेपाली समाजको अन्धकार पक्षलाई बहादुरीका साथ उजागर गरेको छ। महिला अधिकार, सशक्तीकरण, समानता र मानवताका पक्षमा आवाज उठाउने यो चलचित्र नेपाली चलचित्र क्षेत्रमा एक महत्त्वपूर्ण सम्झनालायक चलचित्र भन्न सकिन्छ।
