`

देश बनाउने दाबी गर्ने बालेनले जोगाउन सकेनन् जनता

चिना श्रेष्ठ २८ भदौ २०८३ १४:४८
बिशेष

काठमाडौं। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले देश निर्माणको अभियान अघि बढाइरहेको दाबी गर्दै आएको छ। रास्वपाका नेता-कार्यकर्ताले पनि लामो समयसम्म कांग्रेस, एमाले, नेकपा र राप्रपाले बिगारेको देश सुधार्न समय लाग्ने बताउँदै आएका छन्। तर, सरकारको यही दाबीमाथि अहिले विपद्को समयमा नागरिकको जीवन जोगाउन नसकेको भन्दै गम्भीर प्रश्न उठेको छ।

भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍यायो। हजारौँ नागरिक बेपत्ता भए भने करिब १५ सय जनाको शव फेला परिसकेको अवस्थामा समेत सुरुङभित्र फसेका नागरिकको उद्धार प्रभावकारी रूपमा हुन सकेन। अहिले विभिन्न सुरुङमा फसेका व्यक्तिहरूको शव फेला पर्न थालेपछि सरकारको उद्धार संयन्त्रमाथि थप प्रश्न उठेको छ।

बाढी गएको एक सातासम्म श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विभिन्न गतिविधिमा व्यस्त रहे पनि दशौँ दिनमा रसुवा पुगेपछि उनले सरकारको उद्धार प्रयासमाथि कडा प्रश्न उठाए। हाकुबेसी र चिलिमे क्षेत्रमा सुरुङभित्र फसेका नागरिकको अवस्थाबारे उनले सरकारसँग जवाफ माग्दै उनीहरूको उद्धार कहिले हुने भनेर प्रश्न गरेका छन्।

साम्पाङले सरकारका मन्त्रीहरूप्रति पनि आक्रोश व्यक्त गर्दै संकटको समयमा झण्डावाला गाडी चढेर सलामी थाप्नुभन्दा प्रभावित क्षेत्रमा पुगेर नागरिकसँगै काम गर्नुपर्ने बताएका छन्। उनले मन्त्रीहरूलाई रसुवा पुगेर उद्धार तथा राहतमा प्रत्यक्ष सहभागी हुनसमेत सुझाएका छन्।

सरकारको प्रभावकारिता भाषण र सामाजिक सञ्जालमा गरिने दाबीबाट होइन, संकटमा परेका नागरिकको जीवन जोगाउन सक्ने क्षमताबाट मापन हुन्छ। विपद्को समयमा राज्यको पहिलो दायित्व उद्धार, राहत र नागरिकको जीवन रक्षा गर्नु हो। यही आधारभूत जिम्मेवारी पूरा गर्ने क्रममा बालेन नेतृत्वको सरकारमाथि अहिले गम्भीर प्रश्न उठेको छ। देश बनाउने दाबी गरिरहेको सरकारका लागि सुरुङमा फसेका नागरिकको उद्धार प्रकरण ठूलो परीक्षा बनेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *