रुकुम पश्चिम जीप दुर्घटनामा २ जनाको मृत्यु, १२ जना घाइते
काठमाडौं । रुकुम पश्चिम सानीभेरी गाउँपालिका-६ मा जिप दुर्घटनामा २ जनाको मृत्यु भएको छ । त्यस्तै दुर्घटनामा १२ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका-१ रुघा बस्ने अन्दाजी २८ वर्षिया जिप चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ बस्ने १६ वर्षिया प्रेमकला पुन रहेका छन् । दुवै जनाको जिल्ला अस्पताल सल्ले रुकुम पश्चिममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भदौ २८ गते बिहान करिब ८ः४५ मा कोटगाउँबाट सिम्ली तर्फ आउँदै गरेको लु.१ च.६०२९ नम्बरको जिप वडा कार्यालय नजिकै सिम्लि–दुली जोड्ने भित्री सडकखण्डबाट करिब १०० मिटर तल खसेको हो ।
दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको हो । प्रहरी टोलीले घाइते ११ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले पठाएको हो । साथै, ३ जना घाइतेलाई सानीभेरी गाउँपालिकास्थित अस्पताल छोटेबगर पठाएको प्रहरीले जनायो ।
दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।
