रविको जन्मदिनमा ज्ञानेन्द्र शाहीको सन्देश- ‘जनताको पीडा बुझ्ने र सुशासन दिने दिशामा सरकारलाई डोर्याउनुहोस्’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ज्ञानेन्द्र शाहीले पार्टी सभापति रवि लामिछानेलाई ठूला भ्रष्टाचारका फाइल खोल्न सरकारलाई मार्गनिर्देशन गर्न आग्रह गरेका छन्।
लामिछानेको जन्मदिनको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै शाहीले जनताले रास्वपालाई दुई–तिहाइको सरकार सञ्चालन गर्ने ऐतिहासिक जिम्मेवारी दिएको बताएका छन्। उनले १८२ सिटको जनमत केवल सत्ता नभई जनताको ठूलो विश्वास र आशा भएको उल्लेख गरेका छन्।
पार्टी र राजनीतिक बाटो फरक भए पनि भ्रष्टाचार र बेथितिविरुद्धको उद्देश्य समान रहेको शाहीको भनाइ छ। आफूहरू विगतमा चितवन, पोखरा र काठमाडौंमा भ्रष्टाचार तथा बेथितिविरुद्ध सडकमा उत्रिएको स्मरण गर्दै उनले त्यो लडाइँ कुनै व्यक्ति वा पार्टीविरुद्ध नभई गलत प्रवृत्तिविरुद्ध भएको बताएका छन्।
शाहीले सामाजिक सञ्जालमा लेख्छन् –
आदरणीय रवि लामिछाने दाइ,
तपाईंलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना। सधैँ स्वस्थ, सुखी र खुसी रहनुहोस्।
आज तपाईंको पछाडि हजारौँ–लाखौँ जनता उभिएका छन्। जनताले तपाईंलाई दुई–तिहाइको सरकार चलाउने ऐतिहासिक जिम्मेवारी दिएका छन्, १८२ सिटको जनमत दिएका छन्। यो केवल सत्ता होइन, जनताको ठूलो विश्वास र आशा हो।
हाम्रो पार्टी फरक हुन सक्छ, विचार फरक हुन सक्छ, राजनीतिक बाटो फरक हुन सक्छ। तर भ्रष्टाचार र बेथितिविरुद्धको हाम्रो उद्देश्य एउटै हो देशलाई सही दिशामा लैजाने र भावी पुस्ताको भविष्य यही देशमा सुनिश्चित गर्ने।
हिजो भ्रष्टाचार र बेथितिका विरुद्ध हामी चितवनमा होस्, पोखरामा होस् वा काठमाडौंमा आफ्नो ज्यानसमेत बाजीमा राखेर सडकमा उत्रिएका थियौँ। त्यो लडाइँ कुनै व्यक्ति वा पार्टीका विरुद्ध मात्र थिएन; त्यो लडाइँ गलत प्रवृत्ति, भ्रष्टाचार र बेथितिका विरुद्ध थियो।
त्यसैले दाइ, हिजो हामीले किन लडेका थियौँ भन्ने कुरा आज पनि नबिर्सनुहोस्।
सरकार सञ्चालन भएको करिब छ महिना भइसक्दा पनि ठूला भ्रष्टाचारका फाइलहरू खुलेका छैनन्। भ्रष्टाचारीहरू जेल परेका छैनन्। अपराधीहरू खुलमखुला घुमिरहेका छन्। जनताले सरकार परिवर्तन मात्र खोजेका होइनन्—शासन गर्ने शैली र व्यवस्था परिवर्तनको अनुभूति खोजेका हुन्।
आज पनि जनताले ग्यासका लागि लाइन बस्नुपरेको छ। अस्पतालमा उपचारका लागि लामो लाइन छ। पासपोर्टका लागि लाइन छ। सुरुङभित्र फसेका नागरिकहरूको पनि अझै उद्धार हुन सकेको छैन।
त्यसैले तपाईंको जन्मदिनको दिन मेरो आग्रह छ
ठूला भ्रष्टाचारका फाइल खोल्न सरकारलाई सही मार्गनिर्देशन गर्नुहोस्। बेथिति र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सरकारलाई दबाब दिनुहोस्। जनताको पीडा बुझ्ने र सुशासन दिने दिशामा सरकारलाई दृढतापूर्वक डोर्याउनुहोस्।
