जनताको विश्वास जित्ने गरी काम गर्नुपर्छ: अध्यक्ष बिजुक्छें
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले जनप्रतिनिधिले सधैँ जनताको विश्वास जित्ने गरी काम गर्नुपर्ने बताएका छन् ।कानुन अध्ययन समाज नेपालद्वारा आइतबार आयोजित ‘भदौ ९, २०४५, भक्तपुर काण्ड पञ्चायती राज्यस्तरको षड्यन्त्रविरुद्ध कानुन व्यवसायीको भूमिका विषयक अन्तर्क्रिया तथा सम्मान कार्यक्रम’मा बोल्दै उनले जनतालाई विश्वासमा लिएर आफ्ना गतिविधि अगाडि बढाउनुपर्ने बताएका हुन् ।
उनले भने, “भक्तपुर नगरपालिका किन काम हुन सक्यो, यसको रहस्य के हो भनेर आम रूपमा जिज्ञासा राख्ने गरेका छन् ।”
सङ्कटको बेला नेपाली जनतासँग नै सहयोग लिनु राजनीतिक दृष्टिले सही हुने उनले बताए । अध्यक्ष बिजुक्छेँले भक्तपुर काण्डको समयमा देशका धेरै वकिल, पत्रकार र बुद्धिजीवीहरूले नेमकिपालाई कानुनी प्रतिवाद गर्न र अन्य कार्यमा ठुलो सहयोग गरेको स्मरण गरे । कार्यक्रममा अध्यक्ष बिजुक्छेँले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई सम्मान गरेका थिए ।
