संघीय संसद् अधिवेशन अन्त्य गर्ने तयारी, असोज १५ पछि एक-दुई बैठक बस्ने
काठमाडौं । सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ। असोज १५ गतेसम्मको प्रतिनिधिसभाको सम्भावित कार्यसूचीसहितको संसदीय क्यालेन्डर प्रकाशित भइसकेको छ। त्यसपछि एक वा बढीमा दुई वटा बैठक राखेर अधिवेशन अन्त्य गर्ने तयारी भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का एक नेताका अनुसार असोज १६ गते प्रतिनिधिसभाको बैठक राखेर अधिवेशन अवधिभर भएका गतिविधिबारे छलफल गर्ने तयारी छ। त्यसअघि असोज १५ गतेसम्मका लागि तय भएका कार्यसूचीअनुसार बैठकहरू सञ्चालन हुनेछन्।
‘असोज १६ गते प्रतिनिधिसभाको बैठक राखेर त्यसदिन अधिवेशनभर भएका गतिविधि सुनाउनेगरी छलफल भएको छ,’ ती नेताले भने, ‘असोज १५ पछि एक वा बढीमा दुई वटा बैठक बस्न सक्दछ।’
सरकारले अधिवेशन अन्त्यअघि प्रतिनिधिसभामा रहेका विभिन्न विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने तयारी गरेको छ। यसबीचमा नयाँ विधेयक आए पनि त्यसलाई समितिमा पठाएर अधिवेशन अन्त्य गर्ने सरकारको तयारी छ।
त्यसपछि आगामी पुसमा अर्को अधिवेशन बोलाउने र अधिवेशन सुरु भएलगत्तै बाँकी विधेयकलाई अघि बढाउने सरकारको योजना रहेको नेताहरू बताउँछन्।
संघीय संसद्को चालू अधिवेशन २८ वैशाख २०८३ बाट सुरु भएको हो। यस अधिवेशनमा सरकारले प्रस्तुत गरेको बजेट तथा बजेटसँग सम्बन्धित कानुनहरू पारित भएका छन्। संसद् अधिवेशन नरहेका बेला ल्याइएका अध्यादेश पनि स्वीकृत भएका छन्। ती अध्यादेशले संशोधन गरेका विषय समेटेर ल्याइएका अध्यादेश प्रतिस्थापन विधेयकसमेत संसद्बाट पारित भएर ऐनमा रूपान्तरण भएका छन्।
चालू अधिवेशनमा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्नुका साथै समसामयिक विषयमा सरकारका मन्त्रीहरूले संसद्मा सम्बोधन गरेका छन्। भने प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भने सञ्चालन हुन सकेको छैन।
प्रकाशित संसदीय क्यालेन्डरअनुसार भदौ ३० गते परराष्ट्र मन्त्रालय तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ। सोही दिन एसियाली विधायिकी संस्थाहरूको परिषद् (काउन्सिल अफ एसियन लेजिस्लेटिभ इन्स्टिच्युसन्स) को सदस्यता प्राप्त गर्ने प्रस्ताव अनुमोदन गर्ने तयारी छ।
भदौ ३१ गते बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ। असोज १ गते संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि सामान्य छलफल हुनेछ।
असोज ५ गते बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ। असोज ६ गते नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ।
त्यस्तै, असोज ७ गते भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिनेछ।
त्यसपछि असोज १३ गतेको बैठकमा संयुक्त राष्ट्र संघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिअन्तर्गत राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण तथा दिगो प्रयोगसम्बन्धी सम्झौतामाथि छलफल गरी अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
असोज १४ गते मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ र कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने तयारी छ।
असोज १५ गते नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३, नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ र भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने विषय सम्भावित कार्यसूचीमा समावेश गरिएको छ।
