`

सञ्चारमन्त्रीसँग कोरियाली राजदूतको भेट

Nepal One HD २ असोज २०८३ १५:१२
राजनीति

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क जे–ख्योङले शिष्टाचार भेटवार्ता गरेका छन्।

मन्त्रीको कार्यकक्षमा भएको भेटमा नेपाल–कोरिया सम्बन्ध, भोटेकोसी बाढीपछिको उद्धार, पुनःस्थापना र राहतबारे छलफल भएको छ।

भेटमा सूचना प्रविधि, डिजिटल अर्थतन्त्र र कृत्रिम बौद्धिकता (एआई) का क्षेत्रमा सहकार्य बढाउने विषयमा पनि कुराकानी भएको थियो।

मन्त्री तिमिल्सिनाले बाढीको कठिन समयमा नेपाललाई कोरियाले दिएको सहयोग र सहानुभूतिप्रति आभार व्यक्त गरे। उनले उद्धार तथा खोजीका लागि कोरियाले विपद् व्यवस्थापन टोली परिचालन गरेकोमा पनि धन्यवाद दिए।

बाढी प्रभावितको पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्ने कोरियाली सरकारको प्रतिबद्धताप्रति उनले कृतज्ञता व्यक्त गरे।

मन्त्री तिमिल्सिनाले नेपाल र कोरियाबीच पारस्परिक सम्मान, समझदारी र सहकार्यमा आधारित सम्बन्धलाई आगामी दिनमा थप विस्तार गर्नुपर्नेमा जोड दिए।

राजदूत पार्कले बाढी प्रभावित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि कोरियाको सहयोग जारी रहने बताए।

उनले बाढीमा परेका कोरियाली नागरिकको अवस्थाबारे पनि चासो व्यक्त गरे। उनका अनुसार कोरियाली सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका १० जना कोरियाली नागरिकको उद्धार गरेको छ।

माथिल्लो त्रिशूली–१ आयोजना क्षेत्रमा रहेका थप नौ जना कोरियाली नागरिक भने अझै सम्पर्कविहीन रहेको उनले जानकारी दिए।

राजदूत पार्कले असोज १४ गतेदेखि दक्षिण कोरियामा आयोजना हुने १२औँ ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’बारे पनि जानकारी गराए।

दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा हुने फोरममा नेपालसहित विभिन्न देशका प्रतिनिधि सहभागी हुनेछन्।

फोरममा सूचना प्रविधि र कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य तथा आगामी रणनीतिबारे उच्चस्तरीय छलफल हुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *