गड्डाचौकीबाट पास गाडी धनगढीमा समातिँदा भन्सार अधिकृतको ‘फोन आतंक’
काठमाडौं । भन्सार पास भएर आएको भारतीय गाडी कैलालीमा नियन्त्रणमा लिएपछि कञ्चनपुर भन्सार कार्यालयका एक अधिकृत र सशस्त्र प्रहरीबीच विवाद चर्किएको छ।
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टले सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलालीका प्रमुख एसपी खुमबहादुर केसीलाई फोन गरेर आक्रोशपूर्ण र धम्कीपूर्ण शैलीमा कुरा गरेको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।
भट्टले गड्डाचौकीबाट भन्सार प्रक्रिया पूरा गरेर आएको गाडी कैलालीमा किन रोकिएको भन्दै प्रश्न गरेका छन्। उनले तत्काल गाडी छाड्न वा भन्सार कार्यालयमा पठाउन दबाब दिएका छन्।
गाडी नछाडिए गृहमन्त्री, नेपाल प्रहरीका आईजीपी र भन्सार विभागका उच्च अधिकारीलाई फोन गर्ने चेतावनीसमेत उनले दिएका छन्।
एसपी केसीले गाडी कम मूल्यांकन अर्थात् अन्डरविलिङ भएको शंका लागेर नियन्त्रणमा लिएको बताएका छन्।
त्यसपछि भट्टले त्यस्तो शंका भए गाडी भन्सार कार्यालयमै पठाउनुपर्ने बताएका छन्।
‘भन्सारमा पठाइदिनुपर्यो। होइन भने हजुरहरूलाई लाग्छ भने छोडिदिनुपर्यो। बाटोमा दुःख दिने कामचाहिँ नगरौँ सर,’ अडियोमा भट्टले भनेका छन्।
उनले गाडी भन्सारमा नपुगे वा छुट्न नसके आफूले आईजीपी र गृहमन्त्रीलाई जानकारी गराउने चेतावनी दिएका छन्।
भट्टले कञ्चनपुरबाट जाने सामानलाई बाटोमा दुःख दिने गरेको आरोपसमेत लगाएका छन्।
‘भोलि त्यो गाडी गएन या त्यसमा कुनै क्वान्टिटी फरक हालेर गयो भने मेरो डीजी, हजुरको आईजीपी प्लस तीन–चार जनालाई म स्वाट्टै हान्छु,’ उनले भनेको अडियोमा सुनिन्छ।
गाडी नियन्त्रणमा लिन ठूलो टोली गएको विषयमा समेत उनले एसपी केसीसँग प्रश्न गरेका छन्।
त्यस क्रममा भट्टले ‘त्यो कुनै आतंकवादी थियो र सर ?’ भन्दै प्रश्न गरेका छन्। गाडी महेन्द्रनगरमै नियन्त्रणमा नलिई धनगढीमा किन समातियो भन्ने विषयमा पनि उनले प्रश्न उठाएका छन्।
भट्टले गाडी नियन्त्रणमा लिनुको पछाडि आर्थिक लेनदेन भएको हुन सक्ने आशयको प्रश्नसमेत गरेको सुनिन्छ।
त्यसको जवाफमा एसपी केसीले भनेका छन्, ‘खै, पैसा पाएको नपाएको त तपाईंहरूलाई थाहा होला।’
प्रहरी स्रोतका अनुसार भन्सार अधिकृत भट्टले कैलालीका डीएसपी हीरासिंह महरालाई समेत फोन गरेका थिए।
महरासँग पनि उनले स्पष्टीकरण सोध्ने र कारबाही गर्ने चेतावनी दिएको प्रहरी स्रोतको दाबी छ।
‘तपाईंहरूले पैसा खानुभयो’ भन्ने आरोपसमेत भट्टले डीएसपीसँग लगाएको स्रोतले जनाएको छ। उक्त आरोपको स्वतन्त्र पुष्टि भने भएको छैन।
प्रहरी स्रोतका अनुसार अडियो संवाद अत्तरियामा भारतीय नम्बरको गाडी नियन्त्रणमा लिइएको घटनासँग सम्बन्धित छ।
यूपी ३१ सीटी १३०३ नम्बरको भारतीय गाडी टायर, ट्युबलगायतका सामानसहित अत्तरियामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो।
उक्त गाडी गड्डाचौकी भन्सार कार्यालयबाट भन्सार प्रक्रिया पूरा गरेर आएको बताइएको छ। तर सामानको कम मूल्यांकन गरी भन्सारबाट पास गरिएको भन्ने सूचनाका आधारमा गाडी नियन्त्रणमा लिइएको प्रहरी स्रोतको दाबी छ।
नियन्त्रणमा लिइएको गाडी कैलाली भन्सार कार्यालयमा बुझाइएको र त्यहाँबाट पुनः इलाका प्रहरी कार्यालयमार्फत कञ्चनपुर भन्सार कार्यालयमा पठाइएको जनाइएको छ।
गाडी नियन्त्रणमा लिनुपर्ने अवस्था, सामानको वास्तविक मूल्यांकन र भन्सार प्रक्रिया कानुनअनुसार भए–नभएको विषयमा सम्बन्धित निकायको आधिकारिक धारणा भने सार्वजनिक हुन बाँकी छ।
सार्वजनिक अडियोमा उठाइएका आरोप र आर्थिक लेनदेनसम्बन्धी दाबीको समेत स्वतन्त्र पुष्टि हुन बाँकी छ।
