चौरासी पूजा तथा वृद्धभत्ताबाट संकलन भएको रकम ९३ वर्षीया मिराले गरिन् भोटेकोशी बाढीपीडितलाई सहयोग
पर्वत । पर्वतको कुश्मा नगरपालिका–२ बगैँचाकी ९३ वर्षीया मिरा कुमारी श्रेष्ठले भोटेकोशी बाढीपीडितका लागि ४० हजार रुपैयाँ सहयोग गरेकी छन्। श्रेष्ठले आफ्नो चौरासी पूजा तथा वृद्धभत्ताबाट संकलन भएको रकम बाढीपीडितको सहयोगका लागि प्रदान गरेकी हुन्। उमेरले ९३ वर्ष पुगे पनि सामाजिक सेवाप्रति आफ्नो दायित्व सम्झिँदै उनले विपद्मा परेका परिवारलाई सहयोग गर्ने इच्छा व्यक्त गरेकी हुन्। उनको यो सहयोगले विपद्का बेला मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।
वृद्ध अवस्थामा समेत आफ्नो आम्दानीबाट रकम बचत गरी विपद्मा परेका नागरिकलाई सहयोग गरेपछि उनको योगदानको स्थानीयस्तरमा प्रशंसा भएको छ। भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग जुटिरहेको अवस्थामा श्रेष्ठको सहयोग पनि सोही अभियानमा थपिएको छ।
