`

विदेशमा रहेका नेपालीलाई मताधिकार : कानुनी, नीतिगत र प्राविधिक विकल्प अध्ययन गर्दै निर्वाचन आयोग

Nepal One HD १० असोज २०८३ १८:५४
निर्वाचन

काठमाडौँ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान प्रक्रियामा सहभागी गराउने विषयमा विभिन्न आयामबाट छलफल तीव्र बनाएको छ।

विदेशमा रहेका नेपालीलाई मताधिकार (आउट अफ कन्ट्री भोटिङ) दिने सवालमा प्रमुख आयुक्त मानबहादुर कार्कीसहितका पदाधिकारीहरूले सरोकारवाला तथा जानकारहरूसँग बृहत् विचारविमर्श अघि बढाएका हुन्।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सम्बन्धित मुलुकमा रहेका नेपाली नागरिकको यकिन सङ्ख्या, मतदाता नामावली सङ्कलनको सम्भावित प्रक्रिया, मतदानको सम्भावित विधि र निर्वाचन सञ्चालनमा कूटनीतिक नियोगहरूको भूमिकाबारे गम्भीर छलफल भइरहेको छ।

विदेशमा रहेका नेपालीको तथ्याङ्क सङ्कलन, उनीहरूलाई मतदाता नामावलीमा समेट्ने विधि, मतदान केन्द्रको सम्भावित व्यवस्था र मतदानपछिको मतपत्र व्यवस्थापनजस्ता प्राविधिक तथा प्रशासनिक पक्षहरूमा पनि आयोगले गृहकार्य गरिरहेको छ।

यसै सन्दर्भमा आयोगले परराष्ट्र मन्त्रालयको सहजीकरणमा हालै विभिन्न मुलुकस्थित नेपाली राजदूतावास तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग परामर्श गरिसकेको छ। आयोगले आफ्नै अध्ययन सामग्रीका आधारमा विदेशस्थित दूतावास वा कन्सुलटमा मतदान केन्द्र स्थापना गर्ने, हुलाकमार्फत मतदान गराउने, प्रतिनिधिमार्फत मतदान गर्ने अथवा विद्युतीय वा मिश्रित विधि अपनाउनेजस्ता विकल्पहरूमाथि कानुनी र नीतिगत परिवर्तनको सम्भावनाबारे अध्ययन गरिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *