`

न्यूनचापीय प्रणाली कमजोर बन्दै, आजदेखि वर्षाको गतिविधि घट्ने

Nepal One HD ११ असोज २०८३ १३:१४
बिशेष

काठमाडौं । भारतको उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय प्रणाली कमजोर हुँदै गएसँगै नेपालमा भइरहेको वर्षाको गतिविधि पनि क्रमशः कम हुँदै जाने मौसमविद्हरूले बताएका छन्। यद्यपि आइतबार देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ भने केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्र नेपालको लुम्बिनी र सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभागनजिक रहेकाले पछिल्लो समय ती क्षेत्रमा वर्षाको गतिविधि बढी केन्द्रित भएको हो।

यस प्रणालीसँगै बंगालको खाडीबाट जलवाष्प बोकेको हावा पनि नेपालतर्फ प्रवेश गरेपछि शनिबार राति मध्य भूभागमा वर्षाको गतिविधि बढेको थियो।

तर अहिले न्यूनचापीय प्रणाली कमजोर भइसकेको र त्यसको प्रभावसमेत क्रमशः घट्दै गएकाले वर्षाको गतिविधि पनि कम हुँदै जानेछ। आइतबार भने प्रणालीको बाँकी प्रभावका कारण देशका विभिन्न भूभागमा वर्षा जारी रहनेछ।

पूर्वानुमानअनुसार सुदूरपश्चिम प्रदेशका हिमाल, पहाड र तराईका अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ। कर्णालीदेखि पूर्वतर्फ मधेश प्रदेशसम्मका विभिन्न क्षेत्रमा पनि दिउँसो वर्षा हुन सक्नेछ। कोशी प्रदेशको पूर्वी भूभागमा भने तुलनात्मक रूपमा कम वर्षा हुने अनुमान गरिएको छ।

मधेश, बागमतीको तल्लो भूभाग तथा चितवन आसपास, गण्डकीका तल्लो तथा पहाडी क्षेत्र, हिमाली भूभाग, लुम्बिनीका दक्षिणी क्षेत्र र सुदूरपश्चिमका हिमाल, पहाड तथा तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसमविद्हरुले बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *