`

रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा

Nepal One HD १२ असोज २०८३ २०:५८
विश्व

साउदी राजधानी रियादका विद्यालय सोमबारदेखि पुनः भौतिक रूपमा सञ्चालनमा आएका छन् । विद्यालय एक साताका लागि बन्द गर्ने आइतबारको निर्णय केही घण्टामै उल्टाइएको भए पनि त्यसको आधिकारिक कारण सार्वजनिक गरिएको छैन ।

आइतबार विद्यालय बन्द गर्ने घोषणा गरिएको थियो । तर, अबेर राति अभिभावकलाई पठाइएको सन्देशमा शिक्षा मन्त्रालयबाट प्राप्त नयाँ निर्देशनअनुसार सोमबारदेखि रियादका सबै विद्यालयमा भौतिक पठनपाठन हुने जानकारी दिइएको थियो ।

निर्णयमा आएको परिवर्तन खाडी क्षेत्रमा बढ्दो तनाव तथा यमनमा सक्रिय इरानसमर्थित हुथी समूहबाट साउदी अरबलाई लक्षित गरी भइरहेका आक्रमणको पृष्ठभूमिमा आएको हो ।

रियादका अभिभावकले निर्णय बारम्बार परिवर्तन हुँदा आफूहरू अन्योलमा परेको एएफपीलाई बताएका छन् । एक अभिभावकका अनुसार दुवै घोषणा अबेर राति गरिएकाले अभिभावक र विद्यार्थीलाई तयारी गर्न कठिन भएको थियो ।

अर्का अभिभावकले विद्यालय बन्द गर्ने निर्णय यति छिटो किन परिवर्तन भयो भन्ने प्रश्न गर्नुभएको छ ।
आइतबार विद्यालय बन्द गर्ने घोषणा यमनका हुथी लडाकुसँग लडिरहेको साउदी नेतृत्वको गठबन्धनले साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र निष्क्रिय पारेको जनाएको भोलिपल्ट आएको थियो ।

जुलाईमा लामो समयदेखि जारी युद्धविराम भङ्ग भएपछि यमनमा पुनः द्वन्द्व चर्किएको छ । त्यसयता हुथी समूहले साउदी अरबलाई लक्षित गरी आक्रमण बढाएको बताइएको छ । यसले यमनको द्वन्द्वलाई मध्यपूर्वमा फैलिएको व्यापक तनावसँग जोडिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *