युक्रेनी विश्वविद्यालयद्वारा अनलाइन कक्षा जारी गर्न मातहतका शैक्षिक संस्थालाई निर्देशन
काठमाडाैँ । रूसले दिनको समयमा पनि आक्रमण गरेको भन्दै युक्रेनको प्रमुख विश्वविद्यालयले मङ्गलबार विद्यार्थीहरूलाई अर्को सूचना जारी नहुँदासम्म क्याम्पसमा नजान र घरमा नै रहन आग्रह गरेको छ।
किएभमा दिनको समयका रूसी ड्रोन आक्रमण बढेको कारण विश्वविद्यालयले मातहतका संस्थाहरूलाई अनलाइन कक्षामार्फत् पठनपाठनको व्यवस्था गर्नसमेत निर्देशन दिएको छ ।
किएभको तारास शेभचेन्को राष्ट्रिय विश्वविद्यालयले भनेको छ, “सुरक्षा स्थिति बिग्रिएको कारण कम्तीमा अक्टोबर १६ सम्म शैक्षिक तालिकाको ढाँचामा परिवर्तन हुनेछ।”
सोमबार ड्रोन आक्रमण भई एक जनाको मृत्यु भएको विश्वविद्यालय अन्तर्गतको सबैभन्दा धेरै विद्यार्थी रहेको प्रमुख क्याम्पस युक्रेन साइन्स एकेडेमी नजिक पर्छ।
यो आक्रमण किएभको केन्द्रलाई लक्षित गर्दै रूसी ड्रोन र मिसाइल आक्रमणको बढ्दो अभियानको पछिल्लो घटना हो। यसअघि किएभलाई देशको सबैभन्दा सुरक्षित क्षेत्र मानिन्थ्यो।
हप्ताौँदेखि युक्रेनमा चौबीसै घण्टा ड्रोन र मिसाइल आक्रमणले घण्टौँ लामो एयर चेतावनीको घण्टी (साइरन) बज्दै आएको छ। यसले सहरका करिब तीस लाख बासिन्दाको दैनिक जीवनमा बाधा पुर्याएको छ ।
किएभले यी आक्रमण रोक्नका लागि महत्त्वपूर्ण वायु रक्षा प्रणालीहरूको आपूर्ति बढाउन पश्चिमी सहयोगीहरूलाई आग्रह गर्दै आएको छ।
रूसले नयाँ छिटो चल्ने जेटबाट सञ्चालित ड्रोनहरू प्रयोग गर्न थालेको छ, जुन पहिलेका संस्करणभन्दा युक्रेनी सेनाले रोक्न गाह्रो छ।
