‘चोलेन्द्रलाई मध्यरातमा किन उठाइयो?’
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई मध्यरातमा निवासबाट नियन्त्रणमा लिएको घटनाबारे नेपाली कांग्रेसले सरकारसँग जवाफ मागेको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद नीनुकुमारी कर्णले ‘सुरक्षा चुनौती’ देखाएर जबरालाई नियन्त्रणमा लिइएको भनिए पनि त्यसको कानुनी आधार र प्रक्रिया स्पष्ट हुनुपर्ने बताइन्।
उनले सुरक्षा जोखिम भए राज्यले नागरिकलाई सुरक्षा दिनुपर्ने, तर सुरक्षा व्यवस्थापनका नाममा कसैको स्वतन्त्रता नियन्त्रण गरिएको हो भने त्यसको स्पष्ट कानुनी आधार सार्वजनिक गर्नुपर्ने बताइन्।
‘सुरक्षा चुनौती भए राज्यले सुरक्षा दिनुपर्छ। तर नागरिकको स्वतन्त्रता नियन्त्रण गरिन्छ भने त्यसको स्पष्ट कानुनी आधार र प्रक्रिया सार्वजनिक हुनुपर्छ,’ कर्णले भनिन्।
जबरालाई प्रहरीले आइतबार बिहान करिब ३ बजे महाराजगञ्जस्थित निवासबाट टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको थियो। प्रहरीले सुरुमा उनलाई नियन्त्रणमा लिएको बताए पनि पछि सुरक्षा चुनौतीका कारण सुरक्षित स्थानमा राखिएको दाबी गरेको थियो। अहिलेसम्म प्रहरीले सुरक्षा चुनौती के थियो, कहाँबाट खतरा थियो वा उनलाई घरबाटै लैजानुपर्ने अवस्था किन आयो भन्ने विस्तृत विवरण सार्वजनिक गरेको छैन।
कर्णले जबरालाई नियन्त्रणमा राखिएको अवस्थामा राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई समेत भेट्न नदिएको विषयलाई गम्भीर रूपमा उठाइन्।
आयोगको टोली जबरालाई भेट्न टेकु पुगे पनि करिब ४५ मिनेट गेटमै रोकिएर फर्किएको थियो। त्यसपछि आयोगले प्रहरीका एसएसपी सन्तोष खड्कालाई बोलाएर यस विषयमा स्पष्टीकरणसमेत मागेको छ।
कर्णले व्यक्ति हेरेर संविधान र कानुनको प्रयोग फरक हुन नहुने बताइन्।
‘कसैको विगतको पद, राजनीतिक धारणा, सार्वजनिक छवि वा विवादसँग हामी सहमत वा असहमत हुन सक्छौँ। तर संविधानले प्रदान गरेको अधिकारको प्रयोग व्यक्ति हेरेर फरक हुनु हुँदैन,’ उनले भनिन्।
उनले कुनै व्यक्तिमाथि कसुरको आशंका भए निष्पक्ष अनुसन्धान र कानुनी प्रक्रियाबाट अघि बढ्नुपर्ने बताउँदै राज्य संयन्त्रको दुरुपयोग हुन नहुनेमा जोड दिइन्।
कांग्रेस सांसद कर्णले सरकारसँग जबरालाई नियन्त्रणमा लिनुको कानुनी आधार, सुरक्षा चुनौतीसम्बन्धी सूचना र मानव अधिकार आयोगको टोलीलाई भेट्न नदिइएको कारण स्पष्ट पार्न माग गरेकी छन्।
उता, जबरालाई नियन्त्रणमा लिएको विषयमा नेपाल बार एसोसिएसनले पनि प्रश्न उठाएको छ। बारले नियन्त्रण वा पक्राउको उद्देश्य र कारण स्पष्ट हुनुपर्ने बताएको छ। प्रहरीको ‘सुरक्षा चुनौती’ सम्बन्धी दाबी सार्वजनिक भए पनि खतरा के थियो र त्यसका लागि जबरालाई घरबाटै लैजानुपर्ने कारण भने अझै खुलाइएको छैन।
यस घटनाले जबरा औपचारिक रूपमा पक्राउ परेका हुन् कि सुरक्षा प्रयोजनका लागि नियन्त्रणमा लिइएका हुन् भन्ने प्रश्नसमेत जन्माएको छ। प्रहरीले भने जबरालाई पछि आफन्तको जिम्मा लगाएर घरमै सुरक्षा दिने बताएको थियो।
