नेपालले भारतलाई ८६ मेगावाट बिजुली बेच्ने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले वर्षायाममा जगेडा हुने ८५.६ मेगावाटसम्म बिजुली भारतमा बिक्री गर्ने भएको छ।
प्राधिकरणले आफ्ना ग्राहकलाई बिक्री गरेपछि बाँकी रहने विद्युत् भारतीय विद्युत् व्यापार कम्पनी टाटा पावर ट्रेडिङ कम्पनी लिमिटेडमार्फत भारतको पावर एक्सचेन्जमा बिक्री गर्ने निर्णय गरेको हो।
विद्युत् नियमन आयोगको सहमतिपछि प्राधिकरण सञ्चालक समितिले विद्युत् खरिदबिक्री सम्झौताको मस्यौदा स्वीकृत गरेको हो। आयोगले भदौ २ गते सहमति दिने निर्णय गरेको थियो भने त्यसको जानकारी प्राधिकरणले भदौ ८ गते पाएको थियो। त्यसपछि असोज ३ गते सञ्चालक समितिले विद्युत् बिक्रीसम्बन्धी निर्णय गरेको हो।
सम्झौताअनुसार १ नोभेम्बर २०२६ देखि ३१ मे २०२९ सम्म भारतको विद्युत् बजारमा ८५.६ मेगावाट बिजुली बिक्री गरिनेछ। भविष्यमा दुवै पक्षको आपसी सहमतिमा बिक्रीको क्षमता थप गर्न सकिने व्यवस्था पनि प्रस्तावित सम्झौतामा छ।
प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले भारतमा विद्युत् बिक्री गर्ने सम्झौताको मस्यौदा स्वीकृतिका लागि सञ्चालक समितिमा सिफारिस गरेका थिए। समितिले सोही सिफारिसअनुसार निर्णय गरेको हो।
सञ्चालक समितिका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले निर्णयमा हस्ताक्षर गर्दै सम्झौतामा प्राधिकरणका तर्फबाट हस्ताक्षर गर्न कार्यकारी निर्देशक श्रेष्ठलाई अख्तियारी दिएका छन्।
