कुटपिटको आरोपमा इभान टोनीद्वारा दोष अस्वीकार
काठमाडौं । इङ्ल्यान्डका स्ट्राइकर इभान टोनीले लन्डनको एक नाइट क्लबमा एक व्यक्तिमाथि कुटपिट गरेको आरोप अस्वीकार गरेका छन्।
३० वर्षीय टोनीमाथि गत डिसेम्बर ६ मा मध्य लन्डनको सोहोस्थित वार्डोर स्ट्रिटमा रहेको नाइट क्लबमा साबेर डा सिल्भामाथि टाउकोले हिर्काएको र मुक्का प्रहार गरेको आरोप लागेको हो।
वेस्टमिन्स्टर मजिस्ट्रेट अदालतमा उपस्थित टोनीले आफ्नो नाम र उमेर पुष्टि गर्दै शारीरिक क्षति पुर्याउने गरी कुटपिट गरेको आरोपमा आफू दोषी नरहेको बताएका छन्।
जिल्ला न्यायाधीश ब्रायोनी क्लार्कले मुद्दा मजिस्ट्रेट अदालतबाटै टुंग्याउन सकिने बताएकी थिइन्। तर, टोनीले न्यायाधीश र जुरीसहितको क्राउन कोर्टमा मुद्दा सुनुवाइ गर्न रोजेका छन्।
अदालतले उनलाई कुनै सर्त नराखी धरौटीमा रिहा गरेको छ। उनको अर्को सुनुवाइ अक्टोबर २९ मा साउथवार्क क्राउन कोर्टमा हुनेछ।
टोनीले इङ्ल्यान्डका लागि १० अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनी सन् २०२४ को युरोपियन च्याम्पियनसिपको फाइनलसम्म पुगेको इङ्ल्यान्डको टोलीका सदस्यसमेत थिए।
टोनीले व्यावसायिक फुटबल करिअर नर्थह्याम्पटन टाउनबाट सुरु गरेका थिए। त्यसपछि विगान एथलेटिक र पिटरबरो युनाइटेडबाट खेल्दै सन् २०२० मा ब्रेन्टफोर्डमा आबद्ध भएका थिए।
साथै, हाल उनी साउदी प्रो लिग क्लब अल-अहलीबाट व्यावसायिक फुटबल खेलिरहेका छन्।
