`

सरकारलाई बाबुराम भट्टराईको सुझाव – ‘आधुनिक विज्ञान र प्रविधिको ज्ञान भएकालाई नेतृत्वमा ल्याउनुपर्छ’

Nepal One HD १५ असोज २०८३ १९:२८
बिशेष

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले वर्तमान संसद्मा इन्जिनियर तथा प्राविधिक पृष्ठभूमिका सांसदहरूको संख्या उल्लेख्य हुनु सकारात्मक भएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले विकास र समृद्धिको एजेन्डा अघि बढाउन विज्ञान तथा प्रविधिको ज्ञान र अनुभव भएका व्यक्तिहरूको भूमिका महत्त्वपूर्ण हुने बताएका हुन् ।

राजनीति र संसद्को कार्यभार बहुआयामिक हुने उल्लेख गर्दै उनले जनप्रतिनिधिहरूमा सबै क्षेत्रको सामान्य ज्ञान र अनुभव आवश्यक पर्ने बताए । यद्यपि, राज्य र समाज विकासको विशेष चरणमा रहेका बेला निश्चित क्षेत्रको ज्ञान र अनुभवको महत्त्व अझ बढ्ने उनको भनाइ छ ।

‘परम्परागत कृषिप्रधान अर्थतन्त्रलाई उद्योग र सेवाप्रधान आधुनिक अर्थतन्त्रमा रूपान्तरण गर्ने कार्यभार, अर्थात् विकास र समृद्धिको एजेन्डा प्रमुख रहेको वर्तमान नेपाली सन्दर्भमा संसद् र सरकारको नेतृत्वमा आधुनिक विज्ञान र प्रविधिको ज्ञान र अनुभव भएका व्यक्तिहरूको उपयोगिता सापेक्ष रूपले बढी हुन्छ,’ उनले लेखेका छन् ।

विकासशील देशहरूमा विज्ञान तथा प्रविधिको ज्ञान र अनुभव भएका व्यक्तिहरूको नेतृत्वमा तुलनात्मक रूपमा छिटो र राम्रो विकास भएका उदाहरण रहेको उल्लेख गर्दै भट्टराईले चीनलाई पछिल्लो उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

नेपालले पनि विकास र समृद्धिका क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गर्न सकोस् भन्दै उनले शुभकामना दिएका छन् ।

‘नेपालले पनि नयाँ उदाहरण पेस गर्न सकोस्। हार्दिक शुभकामना !’ उनले लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *