लिग-२ का लागि सन्दीपको कप्तानीमा १५ सदस्यीय नेपाली टोली घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा हुने त्रिदेशीय शृंखलाका लागि १५ सदस्यीय नेपाली टोली घोषणा गरेको छ।
क्यानले शुक्रबार सार्वजनिक गरेको टोलीमा सन्दीप लामिछानेलाई कप्तानको जिम्मेवारी दिइएको छ। लामिछानेले यसअघि पनि नेपाली ओडीआई टोलीको कप्तानी गरिसकेका छन्।
टोलीमा कप्तान लामिछानेसँगै आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, देव खनाल, ईशान पाण्डे र रोहित पौडेल छन्।
यस्तै अर्जुन कुमाल, सन्दीप जोरालगायत गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल टोलीमा समेटिएका छन्।
ओमानमा हुने लिग–२ को त्रिदेशीय शृंखला अक्टोबर ७ बाट सुरु हुँदैछ। नेपालले शृंखलामा ओमान र क्यानडासँग प्रतिस्पर्धा गर्नेछ। आईसीसीको खेल तालिकाअनुसार नेपालले अक्टोबर ११ मा क्यानडासँग, १३ मा ओमानसँग, १७ मा क्यानडासँग र १९ अक्टोबरमा ओमानसँग खेल्नेछ।
क्यानले गत अगस्टमै सन्दीपलाई नेपाली पुरुष ओडीआई टोलीको कप्तान नियुक्त गरेको थियो।
