`

‘पुराना सबै खराब’ भन्ने भाष्यप्रति नीता घतानीको आपत्ति 

Nepal One HD १६ असोज २०८३ १५:४६
राजनीति

काठमाडौं । एमाले सांसद नीता घतानीले राजनीतिमा पुरानो पुस्तालाई नै अयोग्य देखाउने गरी भइरहेको बहसप्रति असन्तुष्टि जनाएकी छन्।

शुक्रबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले लोकतन्त्र स्थापनादेखि देशको पूर्वाधार विकाससम्म पुरानो पुस्ताका नेताहरूको योगदानलाई बेवास्ता गरेर युवालाई उत्तेजित बनाउने भाष्य निर्माण गर्नु उचित नभएको बताइन्।

घतानीका अनुसार पछिल्ला साढे तीन दशकमा देशले हासिल गरेका राजनीतिक तथा सामाजिक उपलब्धिको पृष्ठभूमिमा विगतका पुस्ताले गरेको लामो संघर्ष जोडिएको छ। पुराना नेताहरूलाई गाली गरेर सामाजिक सञ्जालमा भ्युज र लाइक बटुल्ने प्रवृत्तिले देशको समस्या समाधान नगर्ने उनको भनाइ छ।

उनले वर्तमान सरकारप्रति पनि प्रश्न उठाइन्। सरकार कामभन्दा प्रचार र ‘स्टन्ट’ मा बढी केन्द्रित भएको आरोप लगाउँदै उनले नागरिकका दैनिक समस्यामा सरकारको उपस्थिति कमजोर देखिएको बताइन्।

बजारमा खाना पकाउने ग्यासको अभाव, स्वास्थ्य बीमाको अवस्था तथा बाढीपहिरोबाट सिर्जित विपद्को प्रसंग उठाउँदै घतानीले सरकारको कार्यशैलीमाथि आलोचना गरिन्।

‘३५ प्रतिशत रहेको साक्षरतालाई ८० प्रतिशत पुर्‍याउने, सडक, खानेपानी र स्वास्थ्यका पूर्वाधार बनाउने तथा जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने काम विगतका पुस्ताले गरेका हुन्,’ उनले भनिन्, ‘पुरानालाई गाली गरेर भ्युज र लाइक बटुल्दैमा देश बन्दैन।’

चुनावअघि नागरिकसँग ठूला वाचा गर्ने तर सत्तामा पुगेपछि जनताका समस्यामा मौन बस्ने प्रवृत्ति बढेको उनको आरोप थियो।

विपद्को समयमा समेत सरकारको प्राथमिकतामाथि प्रश्न उठाउँदै उनले बाढीपहिरो प्रभावितको उद्धार र राहतमा राज्यको उपस्थिति प्रभावकारी हुन नसकेको बताइन्।

घतानीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा जारी गरिएको नेपालको नयाँ नक्साको प्रसंगसमेत उठाइन्। राष्ट्रियताका विषयमा विगतमा लिइएका अडान र अहिलेका अभिव्यक्तिबीच तुलना गर्दै उनले वर्तमान नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाएकी हुन्।

उनको भाषणको मुख्य सन्देश भने ‘पुरानो पुस्ता असफल र नयाँ पुस्ता मात्रै सक्षम’ भन्ने एकपक्षीय भाष्य निर्माण गर्न नहुने भन्ने थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *