`

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

Nepal One HD १६ असोज २०८३ २०:५३
विश्व

टोकियो। जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको छ । जुलाईमा बेरोजगारी दर २.४ प्रतिशत थियो । सरकारी तथ्यांकअनुसार पाँच महिनापछि पहिलोपटक बेरोजगारी दर बढेको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार अगस्टमा रोजगारीमा रहेका मानिसको संख्या अघिल्लो महिनाको तुलनामा ३० हजारले बढेर ६ करोड ८३ लाख ४० हजार पुगेको छ । रोजगारी गुमाएका वा छोडेका मानिसमध्ये ८ लाख १० हजारले स्वेच्छाले जागिर छोडेका थिए । राम्रो कामको अवस्था खोज्ने उद्देश्यले जागिर छोड्नेको संख्या जुलाईको तुलनामा ८ प्रतिशतले बढेको हो ।

त्यस्तै, ४ लाख मानिसलाई रोजगारदाताले कामबाट हटाएका थिए । यस्तो संख्या अघिल्लो महिनाको तुलनामा ५.३ प्रतिशतले बढेको मन्त्रालयले जनाएको छ ।

अगस्टमा नयाँ रोजगारी खोज्ने मानिसको संख्या पनि २.२ प्रतिशतले बढेर ४ लाख ६० हजार पुगेको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका छुट्टै तथ्यांकअनुसार अगस्टमा प्रत्येक १०० जना रोजगारी खोज्ने मानिसका लागि ११८ वटा रोजगारीका अवसर उपलब्ध थिए । यो अनुपात जुलाईकै स्तरमा कायम रहेको छ ।

क्षेत्रगत रूपमा हेर्दा ११ मध्ये ८ क्षेत्रमा रोजगारीका अवसर अघिल्लो वर्षको तुलनामा घटेका छन् । होटल तथा रेस्टुरेन्ट क्षेत्रमा रोजगारीका अवसर ११.१ प्रतिशतले घटेका छन् भने थोक तथा खुद्रा व्यापार क्षेत्रमा १०.२ प्रतिशतले कमी आएको छ ।

तर केही क्षेत्रमा रोजगारीका अवसर बढेका छन् । उत्पादन क्षेत्रमा ३.९ प्रतिशत र सूचना तथा सञ्चार क्षेत्रमा ३.३ प्रतिशत वृद्धि भएको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *