`

राजदूत बन्न लागेका सुनारमाथि गम्भीर उजुरी, छानबिनको माग

Nepal One HD १९ असोज २०८३ १७:०९
बिशेष

काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारको नियुक्तिमाथि प्रश्न उठाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ।

असोज १४ गते दर्ता भएको उजुरीमा सुनारको विगत, आचरण र सार्वजनिक जिम्मेवारीसँग सम्बन्धित विभिन्न विषयमा छानबिन गर्न माग गरिएको छ।

सुनारलाई सरकारले साउदी अरेबियाका लागि राजदूतमा सिफारिस गरेको हो। संसदीय सुनुवाइपछि मात्र उनको नियुक्ति प्रक्रिया अघि बढ्नेछ।

उजुरीमा सुनारको व्यक्तिगत सम्बन्ध, विगतका गतिविधि तथा विभिन्न घटनासँग जोडिएका दाबीहरू प्रस्तुत गर्दै राजदूत पदका लागि उनको उपयुक्ततामाथि प्रश्न उठाइएको छ। निवेदकले ती विषयमा समितिले गम्भीर छानबिन गर्नुपर्ने माग गरेका छन्।

उजुरीमा ‘छाया अर्याल’ नाम उल्लेख भएकी महिलासँग सुनारको लामो समय सम्बन्ध रहेको र त्यस क्रममा मानसिक यातना तथा धम्की दिएको आरोप लगाइएको छ। निवेदकका अनुसार ती महिलाले आफू र परिवारका सदस्यलाई धम्की तथा अपमानजनक व्यवहार भएको जानकारी त्यसबेलै गराएकी थिइन्।

उजुरीमा करिब १३ वर्षअघिको घटनालाई लिएर जावलाखेलस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा निवेदन परेको र प्रहरीको उपस्थितिमा भविष्यमा सम्बन्धित महिला तथा उनको परिवारप्रति धम्की वा दुर्व्यवहार नगर्ने प्रतिबद्धतासहित कागज गरिएको दाबी गरिएको छ।

त्यस्तो कागज महिला तथा बालबालिका सेवा केन्द्र र जिल्ला प्रहरी परिसर ललितपुरमा रहेको दाबीसमेत निवेदनमा गरिएको छ।

यस्तै, ती महिलाका निजी तथा संवेदनशील तस्बिर र सन्देश विभिन्न व्यक्तिलाई पठाएको आरोप पनि सुनारमाथि लगाइएको छ। उक्त विषयमा प्रहरीसमक्ष सुनारले आरोप स्वीकार गरेको दाबी उजुरीमा गरिएको छ।

उजुरीमा सन् २०२० जनवरी ३ मा एक नाबालिकसँग सम्बन्धित भिडियो उनकी आमाको अनुमति नलिई युट्युबमा अपलोड गरिएको आरोप पनि उल्लेख छ।

उक्त घटनापछि सुनार प्रहरीसमक्ष पुगेको, भिडियो हटाएको र भविष्यमा सम्बन्धित महिला तथा उनको परिवारसँग सम्बन्धित गतिविधि नगर्ने प्रतिबद्धतासहित कागज गरेको दाबी निवेदकले गरेका छन्।

यससँगै करिब ११ वर्षअघि प्रकाशित कान्तिपुर साप्ताहिकको एक अन्तर्वार्तामा सुनारले व्यक्तिगत सम्बन्धलाई जातीय विभेदसँग जोडेर प्रस्तुत गरेको विषय पनि उजुरीमा उठाइएको छ।

उजुरीमा सुनारको विगतको विदेश बसाइसँग सम्बन्धित विषय पनि समेटिएको छ। सन् २००२ देखि २००५ को अवधिमा उनी जर्मनीमा बसेको र गैरकानुनी रूपमा बसेको भन्दै जर्मन अधिकारीले नियन्त्रणमा लिएर नेपाल फर्काएको दाबी निवेदनमा गरिएको छ।

त्यस्तै, भारतको आसाममा रहँदा आफ्नो परिचय फरक रूपमा प्रस्तुत गरेको तथा एक महिलासँगको सम्बन्धबाट छोरा जन्मिएको विषयसमेत उजुरीमा उल्लेख छ।

सन् २०१८ मा ओशो तपोवनसँग सम्बन्धित विषयमा दिएको अन्तर्वार्ता र त्यसपछि भएको कानुनी प्रक्रियाका क्रममा महिला हिंसा तथा प्रहरीसँग सम्बन्धित घटनाबारे आफूलाई प्रश्न गरिएको सुनारको भनाइ पनि उजुरीमा उद्धृत गरिएको छ। त्यसबेला उनले उक्त विषयलाई आफ्नो ‘व्यक्तिगत तथा निजी कुरा’ भनेको निवेदकको दाबी छ।

सामाजिक सञ्जालमा रहेका विभिन्न सामग्रीलाई समेत प्रमाणका रूपमा पेश गरिएको निवेदनमा उल्लेख छ।

उजुरीसँगै नागरिकताको प्रतिलिपि, प्रहरीमा भएको भनिएको कागजको प्रतिलिपि, फोन कल तथा सन्देशका स्क्रिनसट, जर्मन दूतावाससँग भएको भनिएको इमेल आदानप्रदान, सामाजिक सञ्जालका सामग्री, ह्वाट्सएप सन्देश र कान्तिपुर साप्ताहिकमा प्रकाशित अन्तर्वार्ताको प्रतिलिपिलगायत कागजात संलग्न गरिएको दाबी गरिएको छ।

निवेदकले आवश्यक परे ‘छाया अर्याल’लाई समेत समितिसमक्ष उपस्थित गराउन वा टेलिफोनमार्फत घटनाबारे जानकारी लिन सकिने उल्लेख गरेका छन्।

साथै, छानबिनका क्रममा निवेदक, सम्बन्धित व्यक्तिको सम्पर्क, व्यक्तिगत विवरण तथा संवेदनशील सूचनालाई गोप्य राख्न समितिसमक्ष अनुरोध गरिएको छ।

उजुरीमा संसदीय सुनुवाइका क्रममा विगतमा परेका उजुरीलाई औपचारिकतामा सीमित गर्ने प्रवृत्ति दोहोरिन नहुने भन्दै प्रस्तुत विषयमा गम्भीर छानबिन गर्न माग गरिएको छ।

निवेदकले संसदीय सुनुवाइ समितिका केही सदस्यलाई फोनमार्फत उजुरीबारे जानकारी गराएको तथा विभिन्न सदस्यलाई हार्डकपी र पीडीएफ उपलब्ध गराएको दाबीसमेत गरेका छन्।

यद्यपि, उजुरीमा लगाइएका आरोपहरू स्वतन्त्र रूपमा पुष्टि भएको निष्कर्ष भने यसबाट निस्कँदैन। अब संसदीय सुनुवाइ समितिले उजुरीमा उठाइएका विषय, संलग्न कागजात र प्रस्तावित राजदूतको भनाइसमेत हेरेर आवश्यक निर्णय गर्नेछ।

प्रस्तावित १३ राजदूतविरुद्ध उजुरी आह्वान गरेपछि समितिले सुनुवाइ प्रक्रिया अघि बढाइरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *