प्रस्तावित राजदूत गिरि र खगेन्द्र सुनार पार्टनर!
काठमाडौं । साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारविरुद्ध गम्भीर प्रकृतिका आरोप लगाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ। सरकारले विभिन्न देशका लागि सिफारिस गरेका १३ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढिरहेका बेला सुनारविरुद्ध पनि उजुरी परेको हो। १३ प्रस्तावित राजदूतविरुद्ध कुल सात उजुरी परेको संसदीय प्रक्रियासम्बन्धी विवरणमा उल्लेख छ।
उजुरीमा सुनारलाई सांसद तथा अभियन्ता खगेन्द्र सुनारसँग निकट सम्बन्ध रहेको दाबी गर्दै विभिन्न आपराधिक गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ। उजुरीकर्ताले आर्थिक लेनदेनदेखि पदको प्रभाव प्रयोगसम्मका विषयमा छानबिन हुनुपर्ने माग गरेका छन्।
उजुरीमा खगेन्द्र सुनारले दलित आन्दोलनका नाममा स्वदेश तथा विदेशबाट ठूलो रकम उठाएको र त्यसको आर्थिक व्यवस्थापन गिरी बहादुर सुनारले गर्दै आएको दाबी गरिएको छ। उक्त रकम परिवारका सदस्यहरूको बैंक खातामार्फत व्यवस्थापन गरिएको आरोपसमेत उजुरीमा लगाइएको छ।
त्यस्तै, राजनीतिक तथा प्रहरी प्रशासनमा पद मिलाइदिने नाममा रकम असुली गरिएको दाबी पनि उजुरीमा छ। खगेन्द्र सुनारले समानुपातिक सांसद बनाइदिने भन्दै एक व्यक्तिबाट ५० लाख रुपैयाँ लिएको र नेपाल प्रहरीका एक उच्च अधिकारीलाई बढुवा गराउन रकम लिएको आरोप उजुरीकर्ताले लगाएका छन्।
अदालतमा विचाराधीन मुद्दासँग सम्बन्धित प्रमाणमा समेत चलखेल गरिएको दाबी उजुरीमा गरिएको छ। विद्युतीय कारोबारसम्बन्धी एक मुद्दामा पेस भएको लामो अडियो प्रमाण हटाएर छोटो अडियो राखिएको र त्यसमा गिरी बहादुर सुनारको प्रभाव प्रयोग भएको आरोप लगाइएको छ।
उजुरीमा खगेन्द्र सुनारमाथि जबर्जस्ती करणी, अवैध गर्भपतन तथा प्रहरीमाथि आक्रमण गरी हतियार लुटेको जस्ता गम्भीर आरोपसमेत लगाइएको छ।
त्यस्तै, आफूहरूविरुद्ध बोल्ने वा रकम फिर्ता माग्ने व्यक्तिलाई धम्क्याउन आपराधिक समूहको प्रयोग गर्ने गरिएको दाबी पनि उजुरीमा गरिएको छ।
प्रस्तावित राजदूतलाई कूटनीतिक अनुभव र क्षमता पर्याप्त नभएको दाबी गर्दै राजनीतिक पहुँचका आधारमा सिफारिस गरिएको आरोपसमेत उजुरीकर्ताले लगाएका छन्। सुनारलाई राजदूतमा अनुमोदन गर्नुअघि उजुरीमा उठाइएका सबै विषयमा निष्पक्ष छानबिन गर्न संसदीय सुनुवाइ समितिसँग माग गरिएको छ।
