उद्योगबाटै सिलिन्डर बेच्न रोक्न माग
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको भन्दै ग्यास बिक्रेता महासंघ नेपालले नेपाल आयल निगमको ध्यानाकर्षण गराएको छ।
महासंघले निगमका कार्यकारी निर्देशक नागेन्द्र साहलाई ज्ञापनपत्र बुझाउँदै उद्योगबाट भइरहेको खुद्रा ग्यास बिक्री तत्काल रोक्न र डिलरमार्फत मात्र उपभोक्तालाई बिक्री गर्ने व्यवस्था मिलाउन माग गरेको हो।
महासंघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बजारमा आवश्यकताभन्दा बढी सिलिन्डर पुग्नु नै अहिलेको ग्यास अभावको मुख्य कारण भएको दाबी गरेका छन्। तर, यही अवस्थाबीच विभिन्न ग्यास उद्योगले २ हजार ५ सयदेखि २ हजार ७ सय रुपैयाँसम्ममा नयाँ सिलिन्डर बिक्री गरिरहेको भन्दै महासंघले आपत्ति जनाएको छ।
महासंघले उद्योगबाट नयाँ सिलिन्डर बिक्री भइरहँदा पनि निगम र सरकार मौन बसेको भन्दै प्रश्न उठाएको छ। बजारमा रहेका अतिरिक्त सिलिन्डरको धरौटी रकम फिर्ता गर्नेभन्दा नयाँ–नयाँ आकारका सिलिन्डर बजारमा ल्याउने तयारी उपभोक्तामाथि थप आर्थिक भार पार्ने उद्देश्यबाट प्रेरित रहेको महासंघको आरोप छ।
महासंघले ५, १९, ५० र ४५० किलोका सिलिन्डर बिक्री गर्ने योजनाप्रति समेत असन्तुष्टि जनाएको छ। उपभोक्ताले प्रयोग गर्दै आएको प्रणालीलाई व्यवस्थित नगरी नयाँ सिलिन्डर थप्दै जाने नीति स्वीकार्य नहुने उसको भनाइ छ।
ग्यास वितरण प्रणालीलाई पारदर्शी र व्यवस्थित बनाउन उद्योगबाट हुने खुद्रा बिक्री बन्द गरी डिलरमार्फत मात्र बिक्री गर्ने व्यवस्था लागू गर्न महासंघले माग गरेको छ।
त्यस्तै, ग्यास अभावको वास्तविक कारण पहिचान गरी सरोकारवालासँग छलफल गरेर सहज आपूर्ति सुनिश्चित गर्न र हाल सर्वसाधारणले प्रयोग गर्दै आएको १४ दशमलव २ किलोको सिलिन्डरको उचित व्यवस्थापन गर्न पनि महासंघले निगमसँग आग्रह गरेको छ।

