कांग्रेसको बन्द सत्र जारी : सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिनको बन्द सत्र जारी छ।
खुलामञ्चमा चलिरहेको बन्द सत्रमा सभापति गगनकुमार थापा र विभिन्न पदाधिकारीले प्रस्तुत गरेका प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तयारी भइरहेको छ।
बन्द सत्रमा सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठका प्रतिवेदनमाथि छलफल हुन बाँकी छ। ती प्रतिवेदनमाथि प्रतिनिधिहरूको धारणा लिएपछि पारित गर्ने कार्यसूची रहेको महाधिवेशन व्यवस्थापन समितिले जनाएको छ।
यसअघि महामन्त्री प्रदीप पौडेलले प्रस्तुत गरेको संशोधित विधान बन्द सत्रबाट पारित भइसकेको छ। विधान पारित भएसँगै कांग्रेसको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइएको हो।
यतिबेला उम्मेदवारी दर्ताको काम राष्ट्रिय सभागृहमा चलिरहेको छ भने बन्द सत्र खुलामञ्चमा भइरहेको छ। महाधिवेशन प्रतिनिधि र उम्मेदवारको ध्यान निर्वाचन प्रक्रियातर्फ बढी केन्द्रित भएपछि खुलामञ्चमा भने अघिल्लो दिनको तुलनामा चहलपहल केही घटेको देखिएको छ।
महाधिवेशन व्यवस्थापन समितिका संयोजक सुरेशराज आचार्यका अनुसार प्रतिनिधिहरूलाई विभिन्न क्लस्टरअनुसार छुट्टाछुट्टै हलमा राखेर प्रतिवेदनमाथि छलफल गराउने व्यवस्था गरिएको छ। प्रतिनिधिको उपस्थितिअनुसार आवश्यक परे विभिन्न क्लस्टरलाई एउटै हलमा समेटेर छलफल अघि बढाउने तयारीसमेत गरिएको छ।
आचार्यका अनुसार सभापति थापाको राजनीतिक प्रतिवेदनसँगै उपसभापति शर्मा, महामन्त्री घिमिरे र कोषाध्यक्ष श्रेष्ठका प्रतिवेदनमाथि छलफल हुनेछ। छलफल सकिएपछि सम्बन्धित प्रतिवेदनहरू पारित गर्ने प्रक्रिया अघि बढाइनेछ।
यता, राष्ट्रिय सभागृहमा भने नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता चलिरहेकाले महाधिवेशनस्थलको मुख्य आकर्षण निर्वाचन प्रक्रियातर्फ सरेको छ।
