`

कांग्रेसमा ८० क्लस्टर, २९७ सदस्यीय केन्द्रीय समिति!

Nepal One HD २० असोज २०८३ १२:३३
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट ८० वटा फरक क्लस्टर तथा श्रेणीमार्फत नयाँ केन्द्रीय कार्यसमिति चयन हुने भएको छ।

महाधिवेशनको बन्दसत्रले पारित गरेको संशोधित विधानमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म विभिन्न समावेशी समूह निर्धारण गरिएको छ। खुला, महिला, दलित, आदिवासी जनजाति, मधेशी, मुस्लिम, खसआर्य, प्रदेश, प्रवास र युवा लगायतका समूहबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

नयाँ नेतृत्व चयनका लागि सोमबार मनोनयन दर्ता हुँदैछ। उम्मेदवारी दर्तासहितका प्रक्रिया पूरा भएपछि असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने कार्यतालिका छ।

संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। सभापति र वरिष्ठ उपसभापति एक–एक जना तथा उपसभापति चार जना रहने व्यवस्था गरिएको छ। चार उपसभापतिमध्ये कम्तीमा एक जना महिला हुनुपर्नेछ।

महामन्त्री तीन जना रहनेछन्। त्यसमध्ये दुई जना खुला प्रतिस्पर्धाबाट र एक जना महिला कोटाबाट निर्वाचित हुनेछन्। सहमहामन्त्रीको संख्या १५ पुर्‍याइएको छ। दुई जना खुलातर्फबाट निर्वाचित हुनेछन् भने आदिवासी जनजाति, दलित, मधेशी, खसआर्य, थारू, मुस्लिम, पिछडिएको क्षेत्र र अल्पसंख्यक तथा अपांगता समूहबाट एक–एक जना चयन हुने व्यवस्था छ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट सभापतिले मनोनयन गर्नेछन्। प्रवक्ता र सहप्रवक्ता एक–एक जना रहनेछन्।

केन्द्रीय सदस्यतर्फ खुला प्रतिस्पर्धाबाट ४५ जना चयन हुनेछन्। महिलातर्फ खुला १५, आदिवासी जनजाति महिला ८ र खुला १२, दलित महिला ५ तथा दलित खुला ८ जनाको व्यवस्था गरिएको छ। मधेशी दलितका लागि एक सदस्यको कोटा राखिएको छ।

मधेशी महिला र खसआर्य महिलाबाट ८–८ जना तथा खसआर्य खुलातर्फ १० जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। थारू महिलाबाट दुई र खुलातर्फ चार तथा मुस्लिम महिलाबाट दुई र खुलातर्फ तीन जना चयन हुनेछन्।

पिछडिएको क्षेत्र महिला र खुला, अल्पसंख्यक तथा अपांगता समूहबाट पनि एक–एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द्व प्रभावित परिवारका लागि पनि एक–एक सदस्यको व्यवस्था गरिएको छ।

युवा सहभागितालाई पनि विधानमा छुट्टै स्थान दिइएको छ। सातै प्रदेशबाट ३५ वर्षमुनिका महिला तथा खुला समूहबाट केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। काठमाडौं उपत्यकाबाट महिला र खुला समूहमा एक–एक जना चयन हुनेछन्।

प्रवासतर्फ पनि विभिन्न क्षेत्रका लागि कोटा छुट्याइएको छ। युरोप, ओसियाना–अमेरिका, मध्यपूर्व, एसिया–प्यासिफिक र भारतस्थित नेपाली जनसम्पर्क समितिबाट केन्द्रीय सदस्य चयन हुने व्यवस्था गरिएको छ। पेशागत तथा विषयगत क्षेत्र र श्रमिकतर्फ पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

विधानले केन्द्रीय कार्यसमितिलाई थप ६६ जना सदस्य मनोनयन गर्ने अधिकार दिएको छ। विभिन्न समुदाय, क्षेत्र, पेशा र पुस्तालाई समेट्ने गरी बनाइएको नयाँ संरचनाले कांग्रेसको आगामी केन्द्रीय नेतृत्वलाई विगतभन्दा फराकिलो र समावेशी बनाउने लक्ष्य राखेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *