क्यानाडासँग व्यापार वार्ता गर्न हतार छैन : ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न आफूलाई कुनै हतार नभएको बताएका छन्।
अमेरिकामा हुने मध्यावधि निर्वाचनअघि क्यानाडासँग पुनः वार्ता सुरु हुने सम्भावनाबारे सञ्चारकर्मीले प्रश्न गरेपछि ट्रम्पले तत्काल त्यस्तो कुनै निर्णय नभएको बताएका हुन्।
मरिन वनतर्फ प्रस्थान गर्ने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले क्यानाडामाथि अमेरिकासँगको व्यापारमा लामो समयदेखि अनुचित व्यवहार गरेको आरोप लगाए। भविष्यमा व्यापार सम्झौता गर्न क्यानाडा अमेरिकाप्रति इमानदार हुनुपर्ने उनको भनाइ थियो।
क्यानाडाले अमेरिकाबाट ठूलो मात्रामा शुल्क उठाउने गरेको दाबी गर्दै ट्रम्पले दुई देशबीचको व्यापारिक सम्बन्ध असन्तुलित रहेको बताए। क्यानाडाको अधिकांश व्यापार अमेरिकासँग भए पनि अमेरिकाले क्यानाडासँग तुलनात्मक रूपमा कम व्यापार गर्ने उनको दाबी थियो।
‘उनीहरू संयुक्त राज्य अमेरिकासँग इमानदार छैनन् । उनीहरूले वर्षौंदेखि हामीलाई छेड्दै आएका छन्,’ ट्रम्पले भने।
ट्रम्पले व्यापार विवाद अन्ततः समाधान हुने विश्वास भने व्यक्त गरे। तर, क्यानाडासँग वार्ता कहिले पुनः सुरु गर्ने वा त्यसका लागि कुन–कुन सर्त पूरा हुनुपर्ने भन्नेबारे उनले कुनै समयसीमा तोकेनन्।
ट्रम्पले क्यानाडामाथि लगाएको व्यापारसम्बन्धी आरोप पुष्टि गर्ने ठोस तथ्याङ्क वा उदाहरण भने उक्त संवादका क्रममा प्रस्तुत गरेका थिएनन्।
