दसैँको टिकट कहिलेदेखि काट्न मिल्छ?
काठमाडौं । दसैँ, तिहार र छठ पर्व नजिकिँदै गर्दा सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा छलफल गर्न यातायात व्यवस्था विभागले सरोकारवालाको बैठक बोलाएको छ।
चाडपर्वका बेला काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लातर्फ जाने तथा बाहिरी जिल्लाबाट उपत्यका भित्रिने यात्रुको आवागमन सहज र सुरक्षित बनाउने उद्देश्यले अग्रिम टिकट बुकिङको व्यवस्था गर्न लागिएको विभागले जनाएको छ।
विभागले सोमबार पत्र जारी गर्दै बैठकमा सहभागी हुन सम्बन्धित निकायका प्रतिनिधिलाई बोलाएको हो। बैठक असोज २० गते मंगलबार बिहान ११ बजे विभागको मीनभवनस्थित सभाहलमा बस्नेछ।
बैठकमा सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउने, चाडपर्वका बेला यात्रु व्यवस्थापन कसरी गर्ने तथा यातायात सञ्चालनलाई थप सुरक्षित र व्यवस्थित बनाउने विषयमा छलफल हुने बताइएको छ।
यातायात व्यवस्था विभागको सवारी अनुगमन, मापदण्ड तर्जुमा तथा सवारी चालक व्यवस्थापन शाखाकी अधिकृत प्रतिमा ढकालले जारी गरेको पत्रमार्फत प्रहरी प्रशासन, यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिलाई बैठकमा सहभागी हुन आग्रह गरिएको छ।
चाडपर्वका समयमा ठूलो संख्यामा मानिस काठमाडौं उपत्यकाबाट बाहिरिने भएकाले अग्रिम टिकट बुकिङको व्यवस्थालाई यात्रु आवागमन व्यवस्थापनको महत्वपूर्ण माध्यमका रूपमा लिइन्छ। बैठकबाट यस वर्षको अग्रिम टिकट बुकिङसम्बन्धी निर्णय हुने अपेक्षा गरिएको छ।
