कांग्रेसमा उपसभापति-महामन्त्री थपिँदै, पदाधिकारी कति पुग्लान्?
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको पदाधिकारी संरचना विस्तार गर्ने तयारी गरेको छ। प्रस्तावित विधान संशोधनअनुसार अब चार जना उपसभापति र तीन जना महामन्त्री रहनेछन्। दुवै पदमा कम्तीमा एक जना महिला अनिवार्य हुने व्यवस्था गर्न लागिएको छ।
हाल कांग्रेसमा दुई जना उपसभापति र दुई जना महामन्त्री रहने व्यवस्था छ। संशोधित संरचनामा उपसभापतिको संख्या बढाएर चार पुर्याइनेछ। चारमध्ये एक जनालाई वरिष्ठ उपसभापतिको जिम्मेवारी दिने गरी नयाँ पद सिर्जना गर्न लागिएको हो। उपसभापति र महामन्त्री सबै निर्वाचित हुनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ।
त्यस्तै, महामन्त्रीको संख्या पनि दुईबाट बढाएर तीन पुर्याइनेछ। तीनमध्ये एक जना महिला हुने व्यवस्था विधानमै समेट्न लागिएको छ।
सहमहामन्त्रीको संख्या पनि थपिने भएको छ। हाल ११ जना सहमहामन्त्री रहने व्यवस्था रहेकोमा त्यसलाई बढाएर १३ पुर्याउने तयारी छ। प्रस्तावित संरचनामा आठ जना समावेशिताका आधारमा, दुई जना खुलातर्फबाट र तीन जना सभापतिबाट मनोनीत हुनेछन्।
अघिल्लो महाधिवेशनबाट समावेशिताका आधारमा आठ जना सहमहामन्त्री रहने व्यवस्था गरिएको थियो। नयाँ प्रस्ताव पारित भए कांग्रेसको पदाधिकारी संरचना २१ सदस्यीय हुनेछ।
केन्द्रीय सदस्यको संख्या पनि बढाउने तयारी छ। खुलातर्फबाट निर्वाचित हुने केन्द्रीय सदस्यको संख्या ३५ बाट बढाएर ४५ पुर्याउने प्रस्ताव छ। खुला समूहको संख्या बढाउँदा अन्य क्लस्टरमा समेत केन्द्रीय सदस्य थप गर्नुपर्ने माग पार्टीभित्र उठेको एक नेताले बताए।
ती नेताका अनुसार उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यको संख्या बढाउने विषयमा शीर्ष तहमा सहमति जुटिसकेको छ। यद्यपि केन्द्रीय समितिको कुल संख्या कति पुर्याउने भन्ने विषयमा छलफल जारी छ।
कांग्रेसले यसअघि २३१ सदस्यीय केन्द्रीय समिति रहने गरी विधान बनाएको थियो। अब त्यसैलाई संशोधन गर्दै केन्द्रीय समितिको आकारसमेत बढाउने तयारी गरिएको हो।
