`

गाजामा स्थायी युद्धविराम गर्न गुटेरेसको आह्वान

Nepal One HD २० असोज २०८३ २१:४३
विश्व

काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणको तेस्रो वर्षगाँठअघि गाजामा स्थायी युद्धविराम गर्न आह्वान गरेका छन्।

उनले युद्धविरामसँगै गाजामा व्यापक रूपमा मानवीय सहायता पुर्‍याउन र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न पनि आग्रह गरेका छन्।

एक विज्ञप्तिमार्फत उनले अबको समय स्थायी युद्धविराम, व्यापक मानवीय सहायता र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्ने समय भएको बताए। उनले सम्पूर्ण क्षेत्रमा स्थायी शान्तिका लागि राजनीतिक मार्ग तय गर्नुपर्नेमा पनि जोड दिए।

“यो वार्षिकोत्सव शोकको अर्को वर्ष मात्र नभई फरक भविष्य निर्माण गर्ने नयाँ दृढ सङ्कल्पको अवसर बनोस्”, उनले भने। उनका अनुसार इजरायली र प्यालेस्टिनी नागरिकले आफ्ना अधिकार, गरिमा र आकांक्षा पूरा गर्दै शान्ति र सुरक्षामा सँगै बस्न सक्ने अवस्था निर्माण गर्न आवश्यक छ ।

महासचिव गुटेरेसले सन् २०२३ को हमास आक्रमणमा एक हजार दुई सयभन्दा बढी इजरायली तथा विदेशी नागरिकको हत्या र २५१ जनालाई बन्धक बनाइएको घटनालाई ‘घृणित’ भन्दै इजरायली पक्षमा भएको क्षतिलाई स्वीकार गरे।

साथै, गाजाका प्यालेस्टिनी नागरिकले ठूलो मानवीय क्षति, विस्थापन र विनाशको सामना गर्नुपरेको उनले बताए। “उनीहरूको पीडा पनि अब अन्त्य हुनुपर्छ”, उनले भने।

गाजामा इजरायलले सञ्चालन गरेको लामो सैन्य अभियानमा प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार ७४ हजार दुई सयभन्दा बढी मानिसको मृत्यु भएको छ । उक्त मन्त्रालय हमासको नियन्त्रणमा रहेको भए पनि संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गर्ने तथ्याङ्कलाई भरपर्दो मान्दै आएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २०२५ मा घोषणा गरेकाे छोटो युद्धविरामले केही राहत ल्याएको गुटेरेसले स्वीकार गरे । तर त्यसले अझै पर्याप्त सुरक्षा, मानवीय सहायता तथा पुनःस्थापना र शान्तितर्फ जाने विश्वसनीय मार्ग सुनिश्चित गर्न नसकेको उनले बताए।

इजरायलले गाजाको अधिकांश भागमा अझै नियन्त्रण कायम राखेको छ । हमासको निशस्त्रीकरण प्रमाणित नभएसम्म आफ्ना सैनिक फिर्ता नहुने इजरायलको अडान छ । हमासले भने आफ्ना हतियार तत्काल र एकपक्षीय रूपमा त्याग्नुपर्ने प्रस्तावको सट्टा क्रमिक निशस्त्रीकरणको पक्षमा रहेको बताएको छ ।

सन् २०२३ को आक्रमणपछि इजरायलले विभिन्न मोर्चामा सैन्य कारबाही गर्दै आएको छ । विशेषगरी तेहरानको समर्थन प्राप्त इस्लामवादी आन्दोलन हिजबुल्लाहविरुद्ध दक्षिणी लेबनानमा सैन्य कारबाही गरिएको छ । साथै, फेब्रुअरीको अन्त्यमा संयुक्त राज्य अमेरिकासँग मिलेर इरानविरुद्ध युद्ध सुरु गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *